
काठमाडाँै । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्नुपर्छ’ पराजुलीले भने ।
कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्राष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुले उठिबास लगाउन लागेको बताएका छन् । व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताए । निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उनले भने । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भने । त्यस्तै बसपार्कभित्र लामो समयदेखि व्यापार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताए । उनले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राखे ।
एक सय ६१ रोपनीमा फैलिएको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।
व्यवसायीका मागहरुः
–अन्तर्राष्ट्रिय टर्मिनल बस पार्कभित्र निर्माण भएको सपिङ कम्पलेक्समा लामो समयदेखि बसपार्कभित्र व्यवसाय गरिरहेका व्यवसायीहरुलाई भवन निर्माण सम्पन्न भएपछि चलन चल्तीको भाडादरमा व्यवसाय गर्न दिनुपर्ने ।
–सो समयसम्मका लागि यथास्थानमा व्यवपार व्यवसाय गर्ने वातावरण मिलाइनुपर्ने ।
–बस पार्क व्यवस्थापनमा जापना सरकार र नेपाल सरकारको सहमतिअनुसार निर्माण गरियोस् ।
–बसपार्कको खोला साइडमा बाटो भन्दा अगाडि कम्तीमा २ तले भवन निर्माण गरी बस पार्कभित्रका व्यवसायीहरुलाई व्यवस्थापन गरिनुपर्ने ।
उनीहरुले राजनीतिक दलका नेताहहरुलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण सहित २६ गते बसपार्क बन्द गर्ने बताएका हुन् ।
प्रकाशित मितिः २०७३ मंसिर २१
वि.सं.२०७३ मंसिर २२ बुधवार ०१:२२ मा प्रकाशित