
सप्तरी । जिल्लामा वार्षिक १३ करोेड रुपैयाँ बराबरको पान खाएर थुकिने गरिएको छ । पानलाई मिथिला सँस्कृतिअनुसार शुभ मानिने गरिएको छ । खासगरेर शुभ काममा पान अनिवार्य हुन्छ । तर त्यही पानको अनावश्यक प्रयोग र लतका कारण धेरै रकम अनुपयोगी ठाउँमा खर्च भइरहेको छ ।
पूजापाठ र शुभकार्यमा प्रयोग हुनेबाहेक, बिहानदेखी बेलुकासम्म सदरमुकाम राजविराजदेखि अन्य बजार र भित्री गाउँमा रहेका पान पसलमा बेचिने गरिएको पान खाएर थुक्ने रकमको हिसाब गर्ने हो भने जिल्ला विकास समितिकोे कुल बजेटको १२ प्रतिशत रकम हुन जान्छ । जिविस सप्तरीको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ८ करोड रुपैयाँ हो ।
निम्न आय भएकादेखि आर्थिक रुपले सम्पन्न भएका, रिक्सा चालकदेखि सरकारी अधिकारीसम्मको मुखमा बिहानैदेखि पान देखिन्छ । एका बिहानै पान पसलमा भिड सुरु हुन्छ । पान खाएर थुकिएको पितले पान पसलका वरपर राताम्यै हुन्छ । पश्चिम बंगालको कोलकताबाट पानको पात आयात हुने गरेको छ ।
६ पुस २०७३, १।००
वि.सं.२०७३ पुस ६ बुधवार १५:०१ मा प्रकाशित