
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने बताएका छन् । राप्रपा भक्तपुरको संयोजनमा आयोजित राप्रपा मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठकमा उनले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहित विपरीत भएको जनाउँदै त्यसलाई परिमार्जन नगरी संविधान संशोधन गर्न हुँदैन भने ।
अध्यक्ष थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै माग पूरा गर्न सकिने अवस्था नरहे पनि राष्ट्रियहित अनुकूल हुने विषयमा सहमति गर्न सकिनेमा जोड दिए । उनले संशोधन प्रस्तावमा असन्तुष्ट नेकपा(एमाले)र मोर्चाले पनि सहमति जनाउने ढङ्गबाट निकास खोज्नका लागि संसद्मा दर्ता भएको संशोधन विधेयकमा केही परिमार्जन गर्नुपर्ने बताए ।
वर्तमान सरकारमा थप मन्त्री पठाउने विषयमा पार्टीले ‘पर्ख र हेर’को नीति अङ्गीकार गरेको बताउँदै उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले राप्रपाप्रति गर्ने व्यवहारले सरकारमा सहभागिताकामा बारेमा तयारी गरिने स्पष्ट पारे ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले संविधान संशोधन प्रस्ताव ‘राप्रपासँग छलफल गरेर नआएकाले’ औचित्य र आवश्यकताका आधारमा समर्थन र विरोध गरिने बताए । प्रस्तावमा अङ्गीकृत नागरिकताको व्यवस्थालाई धेरै खुकुलो भएको र जुनसुकै भाषालाई सरकारी कामकाजको भाषा बनाउने सकिनेजस्ता बुँदा राष्ट्रहित विपरीत भएको उनको धारणा छ ।
प्रकाशित मितिः २०७३ पुस ६
वि.सं.२०७३ पुस ६ बुधवार २०:४० मा प्रकाशित