
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकसँग मर्जमा गएको ग्रान्ड बैंकको सम्पूर्ण सेयरको कारोबार फुकुवा गरिदिएको छ। राष्ट्र बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयर कारोबार फुकुवाको निर्णय गरेको हो।
यसअघि प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा भएको थियो । प्रभुको मात्र सेयर कारोबार फुकुवा हुँदा ग्राण्डका सेयरधनीहरुले आफूहरु मर्कामा परेको भनी आवाज उठाएपछि प्रभुको पनि कारोबार रोकिएको थियो । राष्ट्र बैंकबाट फुकुवा भएर प्रभुको एक दिन कारोबार भएपछि धितोपत्र वोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएर कारोबार बन्द गराएको थियो।
प्रभु र ग्रान्ड मर्ज भइसकेपछि पनि लामो समयसम्म कारोबार हुन सकेको थिएन। लामो समयपछि राष्ट्र बैंकले प्रभुतर्फको सेयर कारोबार मात्र फुकुवा गरिदिएको थियो। राष्ट्र बैंकले ग्रान्डतिरको पनि फुकुवा गरिदिएपछि आउँदो साताबाट प्रभुको सेयर नियमित कारोबार हुने छ।
७ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ७ बिहीवार १२:१७ मा प्रकाशित