
काठमाण्डौं । मुलुकमा मानिसहरु प्रतिष्ठित पेसा वा पदको खोजीमा रहेका हुन्छन्। लाइबेरियन पेसालाई पनि सानो पेसाका रुपमा लिने मानसिकता नेपाली समाजमा अझै प्रचलनमा छ। के साँच्चिकै लाइबेरियन पेसा सानो पेसा नै हो त ?
विश्वका विभिन्न मुलुकमा लाइबेरियन पेसालाई विचार गर्ने हो भने ठूलाठूला प्रतिष्ठित व्यक्तिले पनि लाइबेरियनको काम गरिसकेको तथ्य फेला परेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुुङ, इजरायलका पूर्व प्रधानमन्त्री गोल्डा मायर तथा बेन्जामिन फ्रयाँक्लीजस्ता ठूलाठूला नेताले पनि लाइबेरियन भई काम गरिसकेका छन्।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजले बुधबार आयोजना गरेको तीन महिने पुस्तकालय तथा सूचना विज्ञानसम्बन्धी तालिमको उद्घाटनका अवसरमा सो कुराको जानकारी दिइएको हो।
कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले ज्ञानको आधारशीला मानिने पुस्तकालय ज्ञान, चेतना दिने तथा दुर्लभ पुस्तक सङ्ग्रहित गर्ने मुख्य थलोको विकासका लागि भएको बताए।
उनले नेपालमा अझै पुस्तक तथा पुस्तकालयसम्बन्धी नीति नभएकाले सरकारले नीतिनिर्माणतर्फ जोड दिएको बताउँदै यसलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
समाजका अध्यक्ष डा नारायण खड्काले सार्वजनिक पुस्तकालय विद्यार्थी, अनुसन्धानकर्ता तथा पाठकका लागि हिराको भण्डार भएको र यसले मुलुकको पहिचानको संरक्षण गरिरहेको बताए। गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्र संस्थानमा ऐतिहासिक महत्वका दुर्लभ वस्तु संरक्षणमा चुनौतीपूर्ण रहेको बताए।
तालिम संयोजक जुजुकाजी डङ्गोल, शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रतिनिधि यादवचन्द्र निरौला, डा मोहन लोहनी तथा समाजका महासचिव तीर्थराज वन्त लगायतका वक्ताले सार्वजनिक पुस्तकालयको महत्व र यसको चुनौतीमाथि प्रकाश पारेका थिए।
बाह्र वर्षअघि स्थापना भएको त्यस पुस्तकालयमा हाल १८०० नियमित पाठक तथा ५० हजार थान पुस्तक रहेको छ । सो पुस्तकालय सञ्चालनका लागि वार्षिक ३० लाख रुपैयाँ सरकारबाट उपलब्ध हुँदै आएको छ ।
७ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ७ बिहीवार १३:०६ मा प्रकाशित