
काठमाडौं । पर्वतारोहण सञ्चालक संघको सातौं साधारण सभा विगतका कार्यहरुको समिक्षा, विधान संशोधन लगायतका निर्णयहरु पारित गर्दै बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
संघको विधान शंसोधनका विषयमा निर्णय गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वतारोहणसंग सम्बन्धित संघ संस्थाहरुले संघसंग आवद्धता हुने अनुरोध गरेमा आवश्यक छानविन गरी कार्यसमितिले नै संस्थागत सदस्यता प्रदान गर्न सक्ने प्रावधान साधारण सभाले पारित गरेको छ । आवद्धता शुल्क पनि कार्यसमितिले निर्णय गरे बमोजिम हुने पारित प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा यस वर्ष सफलता पुर्वक पर्वतारोहण सम्पन्न गराउने नेपाली आरोहीहरुलाई सम्मान समेत गरिएको थियो । मनास्लु फिक्स रोप शेर्पा टिमका काजी शेर्पा, नागाटासी शेर्पा, टेण्डि शेर्पा, नुरी शेर्पा, छेजि नोर्बु शेर्पा, लाक्पा नुरु शेर्पा, पेम्बा भोटे रहेका छन् । त्यस्तै अमादब्लम फिक्स रोप शेर्पा टिमका पासाङ तेन्जि शेर्पा, वोङ्दि शेर्पा, कर्मा शेर्पा, लाक्पा वङेछु शेर्पा, पेद्यबा भोटे, निमा शेर्पालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष डम्बर पराजुलीले बसन्त ऋतु शुरु हुनु भन्दा अगाडी र बसन्त ऋतुको अन्त्यमा सम्पुर्ण पर्वतारोहण सञ्चालक ट्रेकिङ एजेन्सिहरु, बिदेशी टुर अपरेटर÷टीम लिडरहरुको उपस्थितिमा नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा हरेक वर्ष कार्यशाला गोष्टी सञ्चालन गर्ने र त्यसको सुरुवात यसै बसन्त ऋतु २०१७ देखि गर्ने कुरा जानकारी गराए ।
संघका सचिव कृष्णकुमार अर्यालले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष डम्बर पराजुलीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, विभाग, टान, एनएमए, नाट्टा, हान, सोट्टो, भिटोफ लगायत पर्यटनसंग सम्बन्धित संघ संस्थाका अध्यक्षहरुको उपस्थिति थियो ।
६ पुस २०७३
वि.सं.२०७३ पुस ७ बिहीवार १२:४४ मा प्रकाशित