
ब्रासिलिया । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ ।सो कुराको जानकारी ब्राजिलका राष्ट्रपति माइकेल टेमरले बुधबार जानकारी दिए। ब्राजिलले सन् २०१७ मा ती घर निर्माण गर्ने उनले बताए।
ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा ती घरहरू निर्माण गरिने र त्यहाँ आवास नगरका रूपमा सो नगरको विकास गरिने पनि उनले बताए।यस योजनाबाट करिब ५ लाख परिवार लाभान्वित हुन पाउने भएका छन् । सरकारले ती गरिबहरूका लागि आवासको व्यवस्था गर्ने बारेमा यसअघि नै सार्वजनिक घोषणा गरेको थियो ।
त्यस्तै यसअघि पनि सरकारले यस्तो आवास क्षेत्रको विकास गरिसकेको छ । यस योजनाबाट यस वर्षसम्ममा कम्तीमा पनि १ लाख ७० हजार परिवार लाभान्वित भएका छन् ।राष्ट्रपति माइकेलले बुधबारको एक औपचारिक समारोहमा सम्बोधन गर्दै भने– म यसैवर्षमात्र घर पाएका १ लाख ७० हजार र अर्को वर्ष अर्थात् सन् २०१७ भरिमा घर पाउन लागेका पाँच लाख परिवारलाई पनि बधाई दिन चाहन्छु ।
ब्राजिलको सरकारले सन् २००९ देखि मेरो घर मेरो जीवन (माइ हाउस माइ लाइफ) नामक आवास कार्यक्रमको सुरुवात गरेको थियो । तत्कालीन सरकारको सो कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । सरकारी तथ्याङ्कअनुसार यस कार्यक्रमबाट ब्राजिलका कम्तीमा पनि एक करोड २२ लाख नागरिक लाभान्वित भइसकेका छन् ।
८ पुसर २०७३, सिन्ह्वा, १०।३०
वि.सं.२०७३ पुस ८ शुक्रवार १०:५८ मा प्रकाशित