
बागलुङ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने बताएका छन् । नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको धारणा राखे ।
पूर्व प्रधानमन्त्री ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने भनाय राखे । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले भने – “संविधान संशोधन अहिलेको आवश्यकता होइन ।” उनले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्ने पनि बताए ।
मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्नेमा जोड दिंदै उनले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गरे । “निर्वाचन मुलुकको अहिलेको आवश्यकता हो, निर्वाचन गर्न संविधानले छेकेको छैन”, अध्यक्ष ओलीले भने । “रुपान्तरित व्यवस्थापिका–संसद्को काम निर्वाचनसम्बन्धी कानुन बनाउने हो, संविधान संशोधन गर्ने होइन ।”
अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको बाटोबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताउँदै सबै नेपाली राष्ट्र निर्माणमा एकजुट हुनुपर्ने धारणा राखे ।
प्रकाशित मितिः २०७३ पुस ९
वि.सं.२०७३ पुस ९ शनिवार १९:१३ मा प्रकाशित