
काठमाण्डौं । एक सय बीस प्रतिशत हकप्रद सेयर निश्काशन गरेको एनएमबि माइक्रोफाइनान्सको आज हकप्रद भर्ने अन्तिम दिन हो । त्यस्तै, जनता बैंकले मंसिर १ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद सेयर बिक्री मंगलबारदेखि बन्द हुदैछ । हिजो आइतबार सार्वजनिक विदा परेपछि दुवै कम्पनीले थप एक दिन हकप्रद भर्ने म्याद बढाएका हुन् ।
जनता बैंकको हकप्रदमा गत कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले आवेदन भर्न पाउनेछन । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर बिक्री थालेको हो । जनताको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको १ सय २० प्रतिशत हकप्रद भर्ने आज नै अन्तिम दिन हो । कम्पनीले गत मंसिर ६ गतेदेखि १ सय २० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका थियो । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैंया नाघ्नेछ । अहिले लघुवित्तको चुक्ता पूँजी ८ करोड ६३ लाख रुपैंया छ ।
११ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ११ सोमवार ११:३८ मा प्रकाशित