
पर्वत। पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पूरै प्रभावित भएको छ । “सुरुङ खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कङ्क्रिटिङ गर्नुपर्ने हुन्छ” कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुव मिश्रले भने । “बालुवा र गिट्टी नपाउँदा काम नै सुरु गर्न सकेका छैनौँ ।”
कम्पनीका अनुसार अहिलेसम्म चार हजार १९ मिटर सुरुङमध्ये १८० मिटर मात्रै खन्न बाँकी छ । खनिएको सबै सुरुङलाई कङ्क्रिटिङ गर्नुपर्ने हुन्छ । सुरुङ कङ्क्रिटिङ गर्न ६५ हजार घन मिटर बालुवा तथा १३० घनमिटर गिट्टी आवश्यक पर्छ । तर पर्वतका क्रसर र वरपरका क्रसरले समेत मागको तुलनामा न्यून सङ्ख्यामा पनि आपूर्ति गर्न नसकेको प्रोजेक्ट म्यानेजर मिश्रले बताए ।
हेम्जाबाट दैनिक एक टिपर मात्र बालुवा ल्याएर काम भएको छ । यस्तै अवस्था रहेमा आयोजनाको निर्माण कार्य लम्बिँदै जाने र लागत समेत बढेर जाने उनले जानकारी दिए । पर्वतका क्रसरले माग अनुसार कहिल्यै पनि निर्माण सामग्री उपलब्ध गराउन नसकेकाले आयोजना निर्माणका काममा सधैं समस्या हुने गरेको मिश्रको भनाइ छ । सुरुङ मात्रै होइन आयोजनाको अन्य संरचना निर्माणमा पनि निर्माण सामग्रीको अभाव भइरहेको छ ।
अहिले राष्ट्रिय गौरवका सडक र विद्युत् प्रसारण लाइन तथा सरकारी भवनका लागि समेत बालुवा र गिट्टी आपूर्तिमा समस्या भईरहेको स्थानीयहरु बताउँछन् ।
प्रकाशित मितिः २०७३ पुस १२
वि.सं.२०७३ पुस १२ मंगलवार १४:४४ मा प्रकाशित