काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले पहिलो चरणमा बुधबारदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीलाई १ करोड ४४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ । यसमा न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
यता, सञ्चय कोषका कर्मचारीले भने न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर भर्न सी–आस्वा अनिवार्य गरिएको छ । सी–आस्वा सेवा दिने सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ ।
सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । सञ्चयकर्ताको हकमा २०६८ मंसिर २२ मा कायम रहेका र सो पश्चात २०७५ असोज २९ भित्र कायम रहेका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।
कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड र जारी पुँजी ६ अर्ब रहेको छ । संस्थापक सेयरधनीले ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता गरिसकेका छन् । कम्पनीले यसपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ खुला गर्नेछ ।
२०७५ कार्तिक २८ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक २८ बुधवार १२:०४ मा प्रकाशित