काठमाडौं । एनएमबि बैंक ले गत आर्थिक वर्ष २०७४ / ७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ। बैंकले आव २०७४/७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो । बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेको हो ।
एनएमबिले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ छुट्याएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ ।
साधारण सभाका लागि बैंकले पुस १० देखि २६ गतेसम्म सेयरधनी दर्ता बुक क्लोज गर्ने जनाएको छ । पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ ।
२०७५ पौष २ गते प्रकाशित
वि.सं.२०७५ पुस २ सोमवार ११:४८ मा प्रकाशित