काठमाडौं । प्रदेश ५ सरकारले २०७७ सालमा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले बिदाबारे निर्णय गरेको हो ।
मुख्यमन्त्री कार्यालयका अनुसार ६ दिनको बिदा ४ दिन प्रदेशभरका लागि एउटै रहेको छ भने १ दिन स्थानीय तहले दिन पाउनेछन् । अर्को १ दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकिएको छ ।
२०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदा सम्बन्धी निर्णय भएको र त्यसमध्ये ४ दिन प्रदेशभर एउटै प्रकारको हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । त्यसरी छुट्याइएको बिदामा बकरइद, माघ १ गते र २ गते माघी बिदा, फागुन ३ गते प्रदेश स्थापना दिवस रहेका छन् ।
त्यसैगरी स्थानीय तहको निर्णयबाट हुने गरी १ दिनको बिदा छुट्याइएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन बिदा छुट्याइएको छ ।
रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकवा अतवारी र पाल्पाको भगवती जात्रा लक्षित गरी बिदा छुट्याइएको छ । (लोकान्तर अनलाइनबाट)
वि.सं.२०७७ वैशाख १० बुधवार १५:४८ मा प्रकाशित