पोखरा । गण्डकी प्रदेशको आर्थिक वर्ष ०७७–७८ को बजेट गण्डकी प्रदेशसभामा पेस भएको छ । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको छ ।
मन्त्री गुरुङले राजस्व र व्ययको अनुमान पेस गर्दै कोरोना विशेष बजेटको रुपमा गण्डकीले २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । यो बजेटभित्र कोरोनाको रोकथाम प्रभावकारी बनाउन, गुणस्तरीय क्वारेन्टिन, अस्पतालमा शैंया थप, सघन उपचार कक्ष स्थापना, पीसीआर खरिद पर्छन् ।
यस्तै, व्यवसाय सर्भाइभल कोषमा एक अर्ब, बेरोजगार युवाहरुलाई सीप पुँजी अनुदानका लागि १८ करोड रुपैयाँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नौ करोड ८९ लाख, पर्यटनतर्फ दुई करोड ५ लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले निर्वाचन पूर्वाधार विकास कार्यक्रम निरन्तरता दिएको छ । यो कार्यक्रममार्फत कोरोनाको कारण रोजगारी गुमाएका युवाहरुलाई स्वरोजगार र उत्पादनमा जोड्ने उहाँले जानकारी दिनुभयो ।
वि.सं.२०७७ असार १ सोमवार १७:०६ मा प्रकाशित