सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ । सदरमुकाम सिन्धुलीमाढीमा पहिलेको तुलनामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
सदरमुकाम सिन्धुलीगढीमा शनिबार र आइतबार हालसम्मकै धेरै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्बपक्षीय बैठकले मंगलबार (आज) राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए ।
नगरपालिकामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख खत्रीले एक साताका लागि लकडाउन गरिएको बताए । पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढेपछि अन्य क्षेत्रबाट आवतजावतमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको पनि नगर प्रमुख खत्रीले बताए ।
नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सीमा नाकाका सडकहरु पूर्ण रुपमा बन्द गरिने भएको छ । नगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक सबै सरकारी, गैह्रसरकारी क्षेत्रहरु, भीडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द हुने जनाइएको छ ।
वि.सं.२०७७ साउन २७ मंगलवार १८:३० मा प्रकाशित