back
NMB ad

मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी

Kumari bank ad

कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परेका हुन् ।

आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी यतिबेला स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन्। “विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनतमा पनि गुजारा चलाउन सकिँदो रैछ भन्ने बल्ल थाहा भयो”, उनले भने, “परिवारमा बसेर गाउँमै व्यवसाय गरेर जीविका चलाउने गरी अघि बढेको छु ।” यहाँको वेदकोट नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकाका लागि कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम ल्याएपछि आफूलाई उत्साह थपिदिएको धामीको भनाइ छ ।

कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले विभिन्न वडालाई पकेट क्षेत्र निर्धारण गरेपछि उनको वडा लसुन पकेट क्षेत्रमा परेपछि व्यावसायिकरूपमै लसुन खेतीमा लागेका छन् उनी । नगरपालिकाको सहयोग पाएपछि उनले चार कठ्ठा जग्गामा लसुन खेती गरिरहेका छन् ।

त्यसैगरी कोरोना महामारीकै बीच भारतको दिल्लीबाट गत वैशाखमा स्वदेश फर्किएका वेदकोट–८ का लालीराम कामी सीमा नाका र क्वारेन्टाइन बसाइको दुःख सम्झेर रोजगारीका लागि भारत नजाने निष्कर्षमा पुगे । “लसुन खेतीका लागि नगरपालिकाबाट सबै सहयोग पाएको छु अब यही कृषि गर्छु”, कामीले भने, “अर्काको मजदुर हुनुभन्दा कृषि र पशुपालनमा लाग्छु ।” तीन कठ्ठा जग्गामा लसुन खेती गरिरहेका उनले विस्तारै खेती विस्तार गर्ने लक्ष्य रहेको सुनाए ।

वेदकोट नगरपालिकाले नगरका विभिन्न वडामा कृषि पकेट क्षेत्र निर्धारण गरी कोरोना प्रभावितलाई स्वरोजगार बनाउन कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरेपछि रोजगारी गुमाएका थुप्रै युवा कृषिमा लागेका छन् । कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले पकेट क्षेत्रका आधारमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्बर ९ र १० मा प्याज खेती पकेट क्षेत्र बनाएर बेरोजगार युवालाई कृषिमा लाग्न तालीम र प्राविधिक सहयोग गरिरहेको छ । नगरपालिकाले युवालाई पहिलो चरणको तालीमसमेत सम्पन्न गरिसकेको जनाएको छ ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेका पनि कोरोनाका कारण रोजगारी गुमाएपछि च्याउ खेतीमा लागेका छन् । वेदकोट–३ स्थित आशापुर मुक्तकमैया शिविरमा च्याउखेतीका लागि नगरपालिकाले तालीम र प्राविधिक सहयोग गरेपछि मुक्तकमैया महिला च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दशैँअघि च्याउको बेर्ना राखेकी आशापुर शिविरकी रामदुलारी चौधरीले हरेक तेस्रो दिन रु पाँच हजार आम्दानी गरिरहेको बताउन्छिन् । “पहिला मजदुरी गरेर खर्च चल्थ्यो, बन्द भएपछि घर खर्च चलाउनै समस्यामा भयो”, उनले भनिन्, “अहिले हरेक तेस्रो दिन च्याउ बेच्न महेन्द्रनगर बजारसम्म पुग्छु, रु पाँच हजारसम्म आम्दानी हुन्छ ।”

उनले प्रतिकिलो २५० रुपैयाँका दरले च्याउ बिक्री गर्ने गरेको बताईन् । यस वर्ष ७० पोका बेर्ना राखेको बताउँदै उनले यो वर्ष एक लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाईन्।

त्यस्तै आशापुर शिविरकै आशादेवी डगौराले पनि च्याउ खेतीबाट घरखर्च चलेको बताइन् । दम्पती नै मजदुरमा गएर खर्च चलाउँदै आए पनि कोरोनामा काम नपाइएको उनको भनाइ छ । नगरपालिकाले यस वर्ष मात्रै कोरोना प्रभावित भएका युवा तथा विभिन्न नागरिकसहित ४०५ जनालाई कृषि क्षेत्रबाटै रोजगार बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।

त्यसका लागि नगरपालिकाको रु एक करोड र युएनडिपीको रु एक करोडको लगानीमा कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरिएको परियोजनाका संयोजक तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताए ।

“कोरोना प्रभावित, एकल महिला, दलित र जनजातिलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “यो कार्यक्रमअन्तर्गत ४०५ लाई प्रत्यक्षरूपमा उद्यमी बनाउन लागेका छौँ ।” कोरोनाका कारण विदेशबाट रोजगारीका गुमाएर स्वदेश फर्केका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गरेर कृषिमा आत्मनिर्भर हुनका लागि नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको नगरपालिका उपप्रमुख सुशीला सिंहले बताए।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:३१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...