back
NMB ad

१८ वर्षपछि सार्थकता पाउँदै बागलुङ बसपार्क

Kumari bank ad

खेमराज गौतम, गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ ।

अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्षअघि बागलुङ बजारवासीले उपल्ला चौरको दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको थियो । जग्गा प्राप्त भएको १८ वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको हो ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माणको कार्य जनप्रतिनिधि आएपछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहलपछि गति लिएको थियो ।

ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण सकिन थालेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौं मूल्यपर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण हुन सकेको थिएन ।

बागलुङ नगरपालिका–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीयवासी ५२ जनाले निःशुल्क रुपमा उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ ।

बसपार्क निर्माणको काम अन्तिमचरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । “बसपार्क निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान र पार्कीङस्थलको कालोपत्र गर्न बाँकी हो”, उहाँले भन्नुभयो, “डेढवर्षमा सकिने बसपार्कको निर्माण कार्य कोरोना सङ्क्रमणका त्रासका कारण केही ढिला गरी सम्पन्न हुन लागेको हो ।” दुई महिनाभित्रै बसपार्क हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले अन्तिम रुप दिन थालेको उहाँको भनाइ छ ।

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक ६÷६ महिना म्याद थपिएको थियो ।

अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको तथा पार्किङस्थलको कालोपत्रको तयारी भइरहेको छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत आर्थिक प्रगति भएको इञ्जिनीयर शर्माले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिमका कारण निर्माणमा केही ढिलाइ भए पनि आगामी फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्नेगरी बाँकी कामलाई तीव्रता दिइएको बसपार्क निर्माणको जिम्मा लिएका आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो । “पार्किङ र रङ्गरोगनको मात्रै काम बाँकी छ, अहिले पार्किङ कालोपत्रका लागि ग्राभेलको काम भइरहेको छ”, उहाँले भन्नभयो, “कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले थपेको समयभित्रै बसपार्क हस्तान्तरण गरिनेछ ।”

नगरवासीको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको चाहना १८ वर्षपछि सार्थकता पाएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । “१८ वर्ष पहिला करोडौं मूल्य बारबरको जग्गा नगरपालिकालाई दिइएको थियो, तर जनप्रतिनिधिबिहीन हुँदा काम हुनसकेका थिएन”, उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियांै, अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफलसमेत भएको छ ।”

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साँढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो ।

लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीयवासी निराश भएका थिए । ढिलै भए पनि बसपार्क बनेकोमा खुशी भएको जग्गादाता गुणनिधि शर्माले बताउनुभयो ।

धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १८ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो । “नगरपालिकालाई जग्गा दिए पनि काम भएको थिएन, अहिलेका जनप्रतिनिधिले बसपार्क निर्माणलाई सार्थकता तुल्याउने काम गरेको छ”, उहाँले भन्नुभयो, “जग्गा दिएको वर्षौपछि खुशी भएको छु, बसपार्क बाहेकको जग्गा व्यवस्थापन गरी घडेरी निर्माण गर्न नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ, अब ४२ रोपनी जग्गा व्यवस्थित रुपमा घडेरी बनाएर जग्गाधनीलाई फिर्ता गरिनेछ ।”

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भूइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । व्यवस्थित बसपार्क नहुँदा बागलुङ बजारहुँदै जाने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत बागलुङ बजार मध्यविन्दुका रुपमा विकसित भएकाले बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न समस्या हुँदै आएको थियो ।

बागलुङमा व्यवस्थित बसपार्क निर्माण नहुँदा ट्राफिक समस्या झेलिरहेका बागलुङबासीलाई अब सहज हुने अपेक्षा गरिएको छ । अहिले बागलुङ बजारको चिप्लेटी बसपार्क प्रयोग गर्दै आए पनि साँघुरो भएकाले समस्या हुँदै आएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...