back
NMB ad

के हो बुक बिल्डिङ विधि ? कसरी हुन्छ कारोबार, सेयर लगानीकर्तालाई के-के हुन्छ फाइदा ?

Kumari bank ad

काठमाडौं । अहिले सेयर लगानीकर्ताहरुको लागि धेरै नै चासोको विषय बनेको छ ‘बुक बिल्डिङ’ विधि । के हो बुक बिल्डिङ विधि, कसरी हुन्छ सेयरको बाँडफाँड, कसरी हुन्छ मूल्य निर्धारण, यसले लगानीकर्ता तथा कम्पनीलाई के फाइदा हुन्छ, लगानीकर्ताको मनमा यस्तै यस्तै प्रश्न घुमीरहेका छन् ।

सामान्यतया धितोपत्र निष्काशनको मूल्य अर्थात आइपीओ निष्काशन गर्नुअघि नै सेयर मूल्य पत्ता लगाउने विधि नै बुक बिल्डिङ हो । आइपीओ निष्काशन गर्न चाहने कम्पनीले निश्चित मापदण्डको आधारमा मूल्य निर्धारण गरिन्छ ।

के हो बुक बिल्डिङ विधि ?

बुक विल्डिङ्ग विधिबाट धितोपत्र जारी गर्दा बजारको मागको आधारमा निर्धारित मूल्यमा सार्वजनिक निष्काशन गरिन्छ । बुक विल्डिङ्ग विधिले बजारद्वारा निर्धारित हुने मूल्यमा धितोपत्रको सार्वजनिक निष्काशन हुने प्रक्रियालाई जनाउँछ । बुक विल्डिङ्ग विधि मार्फत् धितोपत्र जारी गर्ने संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकले संस्थाको आधारभूत पक्ष तथा बजारको अवस्थाको विश्लेषण गरी निष्काशन मूल्य वा मूल्य सीमा तय गर्ने गरिन्छ ।

लगानीकर्ताले तोकिएको मूल्य सीमा भित्र वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ ।
सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई ‘कट अफ प्राइस’ मानी उक्त मूल्य र सो भन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिन्छ ।
कट अफ प्राइस नै धितोपत्र निष्काशनको निर्धारण भएको मूल्य हो ।

बुक बिल्डिङ विधिको महत्व

नेपालमा बुक विल्डिङ्ग विधिको महत्व निकै नै रहेको छ । यसले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने गर्दछ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने गर्दछ ।

निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिबृद्धिमा सहयोग पुग्ने देखिन्छ । ठूला संस्थागत लगानीकर्ताको धितोपत्र मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने, लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने अपेक्षा रहेको छ ।

बुक बिल्डिङको आवश्यकता

नेपालको धितोपत्र बजारमा वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने संगठित संस्था कम रहेका र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको बाहुल्यता धेरै रहेको छ ।

धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यर्थाथ रुपमा प्रतिबिम्बीत गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न खोजिएको हो ।

वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत् पूँजी परिचालन गराउन सरकार र नेपाल धितोपत्र बोर्डले विशेष पहल गर्दै आइरहेको छ । संगठित संस्थालाई धितोपत्र बजारमा प्रवेश गराउन नियमन निकायले आवश्यक पूर्वाधारहरु तयार गर्ने क्रममा बोर्डले धितोपत्रको प्राथमिक निष्काशनमा अन्तर्राष्ट्रिय रुपमा प्रचलित बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याएको छ ।

बुक विल्डिङ्ग विधिको प्रयोगबाट धितोपत्र निष्काशन गर्दा संगठित संस्थाले कम्पनीको वास्तविक मूल्य गणना गरी धितोपत्रको मूल्य सीमा तोक्ने र सोही सीमाभित्र रही बजारले माग देखाउने भएकोले यस विधि अनुसार निर्धारण भएको मूल्यले कम्पनीको वास्तविक अवस्थाका साथै बजारको मागलाई समेत सम्बोधन गर्दछ । यसबाट वित्तीय अवस्था सबल भएका संगठित संस्थालाई अङ्कित मूल्यमा नै धितोपत्र जारी गर्नुपर्ने अवस्थाको अन्त्य भई ती संस्थाहरु धितोपत्र बजारमा आकर्षित हुने देखिन्छ ।

मूल्य निर्धारण विधिको प्राथमिकता

सरकारको १५ औं पन्चबर्षिय योजनामा ‘धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई भित्र्याउन आवश्यक प्रोत्साहनमूलक व्यवस्था गरिने’ भन्ने उल्लेख भएको छ ।

बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न सरकारको वित्तीय क्षेत्र विकास रणनीति (२०७३–७४ – २०७७–७८) मा स्वतन्त्र मूल्य निर्धारण प्रणाली लागू गर्ने कार्यक्रम रहेको छ ।

धितोपत्र बोर्डको चालु आव २०७७÷७८ को वार्षिक कार्यक्रममा बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गर्न प्रोत्साहित गर्न बुक बिल्डिङ्ग निर्देशिका बनाई लागू गर्ने कार्यक्रम रहेको छ ।

बुक बिल्डिङ विधिमा जान योग्य संगठित संस्था

बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाको योग्यतामा विगत तीन आर्थिक बर्ष देखि लगातार खुद मुनाफामा रहेको, नेटवर्थ चुक्ता पुँजी (प्रति शेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको हुनुपर्ने छ ।

कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको, साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्ने छ ।

योग्य संस्थागत लगानीकर्ता

योग्य संस्थागत लगानीकर्तामा सूचिकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना,
मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी, न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेको लगानी कम्पनी हुनुपर्दछ ।

योग्य संस्थागत लगानीकर्ताको कार्य गर्न चाहनेले बोर्डबाट स्वीकृती लिनुपर्ने छ । बुक विल्डिङ्ग विधिबाट धितोपत्र निष्काशन गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारण लगानीकर्ता छुट्याउनुपर्ने व्यवस्था रहेको छ ।

छलफल कार्यक्रम

संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा विभिन्न विषय खुलाएर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्दछ । जसमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची ५ बमोजिमको विवरण, निष्काशन गरिने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य, धितोपत्र मूल्यांकनको आधार र औचित्य, प्रारम्भिक विवरणपत्र सम्बन्धमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ ।

छलफल संचालन गरिने समय र स्थान तोकी कम्तिमा सात दिन अगाडि लिखित रुपमा वा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने र प्रारम्भिक विवरणपत्र वेवसाइटमा राख्नु पर्नेछ । संगठित संस्थाले छलफल कार्यक्रममा उक्त संस्थाको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण उपलब्ध गराउनुपर्ने आशय मूल्य तथा मूल्य सीमा निर्धारण छलफल कार्यक्रम संचालन भएकोे पाँच कार्य दिन भित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङ्कनको आधारसहित आशय मूल्य पेश गर्न सक्नेछ ।

कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सो को अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्ने छ । आधार मूल्यमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यहरुलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।

आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमा भित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने छ ।

धितोपत्र निष्काशनका लागि आवेदन

धितोपत्रको बिक्री मूल्य सीमा समेत उल्लेख गरी विवरणपत्र स्वीकृतिका लागि बोर्डसमक्ष पेश गर्नुपर्ने छ । पेश भएको विवरणपत्र तथा अन्य कागजातको अध्ययन गरी उपयुक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्ने छ ।

बोलकबोल प्रकृया

विवरणपत्र स्वीकृत भएको १० कार्य दिनभित्र योग्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री मूल्य सीमाभित्र बोलकबोल गर्न आव्हानपत्र प्रकाशन गर्नुपर्ने छ ।

आव्हानपत्र प्रकाशन भएको सात कार्य दिन पछि बोलकबोलमा भाग लिन सक्ने व्यवस्था गर्नुपर्ने छ । बोलकबोल चार कार्य दिन संचालन गर्नुपर्ने छ भने कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशन हुने धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि प्रस्ताव पेश गर्न पाइने छैन् ।

निष्काशन कम्पनीसँग कुनै स्वार्थ बाझिने भएमा योग्य संस्थागत लगानीकर्ता बोलकबोल प्रक्रियामा सहभागी हुन पाउँदैनन् । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शत प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गनुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।

स्वचालित विद्युतीय बोल कबोल प्रणाली

बोलकबोल स्वचालित विद्युतीय प्रणालीमार्फत् गर्न सकिने छ । धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने छ । धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई स्वचालित विद्युतीय बोल कबोल प्रणालीको युजर आइडि र पासवर्ड उपलब्ध गराउनुपर्ने छ ।

युजर आईडि र पासवर्डका लागि निवेदन दस्तुर १० हजार, वार्षिक नविकरण शुल्क ५ हजार रुपैयाँ लाग्नुपर्छ । विद्युतीय बोलकबोल प्रणाली संचालनको शुल्क लाग्ने छ । योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको धितोपत्रको अंकित मूल्यको ०.१ प्रतिशत वा न्यूनतम २ लाख रुपैयाँ लाग्ने छ । स्वचालित विद्युतीय प्रणाली संचालनमा नआउन्जेल सिलबन्दीमार्फत् समेत बोलकबोल गर्न सकिने छ ।

कट अफ मूल्य निर्धारण र धितोपत्र बाँडफाँड

निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हँुदा कायम हुन आउने बोलकबोल मूल्य निर्धारण गर्नुपर्छ । कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने हुन्छ । कट अफ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने हुन्छ ।

कट अफ मूल्य भन्दा कम मूल्यमा बोलकबोल गर्ने बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट नगरिने र बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारणलाई धितोपत्र निष्काशन

कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने छ । निष्काशन गरिने शत प्रतिशत धितोपत्र प्रत्याभूति गराउनुपर्ने छ ।

योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाडफाँट गरेको सात कार्य दिनभित्र संशोधित विवरणपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नुपर्ने छ । संशोधित विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, धितोपत्रको संख्या उल्लेख गर्नुपर्छ ।

योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र जारी गर्दा स्वीकृत भएको विवरणपत्रमा उल्लेखित संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय पनि उल्लखे गर्नुपर्छ । प्राप्त निवेदनको जाचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले सात कार्य दिनभित्र विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने छ ।

बोर्डबाट विवरणपत्र स्वीकृत भएको सात कार्य दिनभित्र आव्हानपत्र प्रकाशन गरिसक्नुपर्ने र आव्हानपत्र प्रकाशन गरेको सात कार्य दिन भित्र धितोपत्रको बिक्री खुला गर्नुपर्ने छ ।

आवेदन तथा बाँडफाँट व्यवस्था

सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ । संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्ने छ ।

सर्वसाधारणमा धितोपत्र निष्काशन, आवेदन तथा बाँडफाँट सम्बन्धी अन्य व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ र धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४ बमोजिम हुनेछ ।

वि.सं.२०७७ चैत ८ आइतवार १८:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...