काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउनुहुँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।
लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले लगानीकर्ताहरुसंग महासंघले सहजीकरण गर्ने पनि जानकारी गराउनु भयो । छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो ।
कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताउनुभयो उहाँले योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताउनुभयो ।
वि.सं.२०७७ चैत २० शुक्रवार १७:५० मा प्रकाशित