back
NMB ad

धमाधम सम्बन्ध बढाउँदै काठमाडौं महानगर : दुई तहसँग सम्झौता, कुन तहमा के को सम्भावना कति ?

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध विस्तारलाई तिब्रता दिएको छ ।

मंगलबार महानगरपालिकाले सुदुरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगर र प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरबीच भगिनी सम्बन्ध स्थापना गरेको छ ।

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) र पाख्रीबासका प्रमुख बृषबहादुर राईले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

महानगरको नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत अमरगढी पार्क निर्माणका लागि सम्झौता भयो । दुवै नगरका प्रमुखहरुले हस्ताक्षर गर्नुभएको उक्त सम्झौताबमोजिम अमरगढी नगरपालिकाको वडा नम्बर २ र ५ को भौगोलिक क्षेत्रमा अमरगढी पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । त्यहाँको ४ सय ५० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिनेछ ।

‘देशभित्रकै स्थानीय तहहरुका सफल र असल अभ्यास अनुकरणीय छन् । आपसी पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि सहकार्य गर्न सकिने जनाइएको छ । यसले देशको समृद्धिका लागि ठूलो टेवा पुग्ने बताइएको छ । त्यसैले हामी स्थानीय तहहरुकाविचमा भगिनी सम्बन्ध स्थापना गर्दै आएका छौँ ।’ देशभित्रकै अन्तरनगर भगिनी सम्बन्ध स्थापनामा महानगरको दृष्टिकोण राख्दै प्रमुख शाक्यले भन्नुभयो, ‘यस्ता सम्बन्धले स्थानीय उत्पादन तथा बजार व्यवस्थापन, मानवीयताको नगर निर्माण, आपसी हितका लागि अध्ययन तथा अवलोकन, मूर्त अमूर्त सांस्कृतिक, सम्पदा र पर्यटनको प्रवर्धनमार्फत साझा हित प्राप्त हुनेछ । आन्तरिक यो क्षमताको उच्चतम उपयोग गरेर समृद्धिमा पुग्ने आधार तयार गर्ने महानगरको सोच हो ।’

बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यही किल्लाको नामबाट स्थापित नगरपालिकालाई काठमाडौँ महानगरसँगको सम्बन्धमा जोड्न पाउँदा म मेरा नगरबासी र जनप्रतिनिधिकातर्फबाट हर्ष प्रकट गर्न चाहन्छु । सम्झौतापछि अमरगढी नगरका प्रमुख ओझाले भन्नुभयो, ‘सहिद भीमदत्त पन्तको जन्ममूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल हो । महानगरसँगको सम्बन्धबाट यस्ता प्राचीन र पर्यटकीय ठाउँहरुको प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा राखेका छौँ । महानगरसँग सम्बन्ध स्थापना भइसकेपछि हामी विकास निर्माण र सेवा व्यवस्थापनका लागि थप उत्साहित भएका छौँ ।’

२०५३ सालमा देशभर घोषणा भएका १५ नगरपालिकामध्ये अमरगढी एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरिपरिका साविक ५ वटा (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज) गाउँ विकास समितिको भौगोलिक क्षेत्र गाभेर नगरपालिका बनाइएको हो ।
अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकीकरणको सिलसिलामा भएको हो ।

वि.सं. १८४४ भदौ ३१ गते आइतबारका दिन सेती नदीको नारी दाङमा गोर्खाली सैन्यसित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुगेको थियो । त्यसपछि यस भुभागको प्रशासकका रुपमा अमरसिंह थापा नियुक्त भए । यस क्षेत्रको संरक्षण र महाकाली पारीको भूभागमा विजय प्राप्त गर्न उनले डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा बिशाल ढुङ्गे किल्ला बनाए । नेपालको एकीकरणका लागि अमरसिंह थापाले निर्माण गरेको त्यही विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो । सुदुरपश्चिम प्रदेश, महाकाली अञ्चलमा पर्ने डडेल्धुरामा एउटा संसदीय निर्वाचन क्षेत्र छ । यही जिल्लाको सदरमुकाम अमरगढी नगरमा ११ वडा छन् ।

यस्तै काठमाडौँ महानगरले प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरबीच भगिनी सम्बन्ध स्थापना गरेको छ । पाख्रीबास नगरको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि सम्झौता भएको बताइएको छ । सम्झौताबमोजिम त्यस क्षेत्रमा पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

१ प्रदेश १ अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजना अनुसार महानगरपालिकाले यसअघि कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको हो ।

‘मुलुक भित्रकै स्थानीय तह, स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापनाले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले हामीले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ प्रमुख शाक्यले भन्नुभयो ‘अन्तरराष्ट्रिय सहरबाट मात्र होइन, देशभित्रकै नगरबाट धेरै सिक्न सकिन्छ भन्ने हाम्रो विश्वाश हो । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुनेछ ।’

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भएकोले पहिलो चरणमा ७ प्रदेशका ७ स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअन्तर्गत काम भइरहेको प्रमुख शाक्यको भनाइ थियो ।

कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौँ र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग–अलग रहेको बताउनुभयो । काठमाडौँले रेल सेवाको कुरा गर्छ । त्यो हामी सपना देख्न सक्दैनौँ । हाम्रो सपना सानो छ । हामी चाहन्छौँ, सबै वडामा बाह्रै महिना यातायातका साधन लैजान सकियोस् । यसरी ठूलो काम गर्ने सहरले हामीजस्तो सानो सपना देख्ने नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । यो हाम्रा लागि हर्षको क्षण हो ।’ प्रमुख राईले पाख्रीबास नगरका जनताकातर्फबाट काठमाडौँका जनतालाई आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीचका जनप्रतिनिधिहरुले जनप्रतिनिधकै तहमा, कर्मचारीले कर्मचारीकै तहमा र नागरिकले नागरिककै तहमा तथा यी तह र संरचनाहरुलाई मिसाएर संयुक्त रुपमा असल अभ्यास आदान प्रदानबाट आपसी हित बढाउने अपेक्षा गर्नुभयो । भगिनी सम्बन्ध भन्नेवित्तिकै अन्तरर्राष्ट्रिय सहर सम्झनामा आउनु हुँदैन । आन्तरिक सिकाइ अझ प्रभावकारी हुन्छन् । खड्गी श्रेष्ठको भनाइ थियो ।

समुद्र सतहदेखि २ सय मिटरदेखि १ हजार ८५२ उचाइ भूगोल महाभारत पर्वत श्रेणीको उत्तरमा रहेको पाख्रीबास नगरमा १० वटा वडा छन् । १४४.२९ बर्ग किलोमिटर नगरको भौगोलिक क्षेत्र हो ।

साविकको पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगा गाउँ विकास समितिलाई जोडेर २०७१ मंसिर १६ गते पहिलो पटक नगरपालिका घोषणा गरियो । त्यसपछि ०७३ फागुन २७ गते चुङ्वाङ् गाउँ विकास समितिलाई गाभेर संघीय शासन व्यवस्था बमोजिमको नगर घोषणा गरिएको हो । अर्गानिक कृषि नगरको नारा बोकेर कृषि पर्यटनतर्फ केन्द्रीत नगरभित्र जलपादेवी, राम्चे डाँडा, जौटार, नैनीताल र पाख्रीबास कृषि अनुसन्धान केन्द्र प्राकृतिक पर्यटकीय क्षेत्र हुन् ।

वि.सं.२०७८ साउन २७ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...