काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपाल आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एशियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ ।
एसियन डेभलपमेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो प्रक्षेपण गरेको हो । एडीबीका अनुसार सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत मात्रै रहेको छ ।
कोभिड महामारी विरुद्धको खोप अभियान जारी रहँदा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको भएपनि पछिल्लो पटक रुस–युक्रेन युद्धको असर अर्थतन्त्रमा देखिएको प्रतिवेदन मार्फत जनाएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएको छ,–‘विचलित व्यापार र वस्तुको उच्च मूल्यवृद्धिका कारण भुक्तानी सन्तुलन तथा विदेशी विनिमय सञ्चितिमा चाप परेको छ । पेट्रोलियमलगायत वस्तुको मूल्यवृद्धिले नेपालको मुद्रास्फीति दर पनि गत वर्षको भन्दा बढ्नेछ ।’
सन् २०२२ मा करिब दोब्बर अर्थात ६.५ प्रतिशत पुग्ने र नेपालको चालु खाता घाटा गतवर्षको भन्दा ९.७ प्रतिशत बढ्ने एडीबीको अनुमान छ ।
त्यस्तै २०२२ मा औद्योगिक क्षेत्रको वृद्धिदर ४.१ प्रतिशत माथि रहने, सन् २०२३ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत अनुमान गरिएको छ । त्यस्तै २०२३ मा मूल्यवृद्धि घटेर ६.२ प्रतिशतमा रहने एडीबीको प्रक्षेपण छ ।
वि.सं.२०७८ चैत २३ बुधवार १४:२० मा प्रकाशित