back
NMB ad

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

Kumari bank ad

जनकपुरधाम । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो ।

पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको कुल २७ किलोमिटर सडकमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा पनि बाँकी रहेको करिब दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इञ्जीनियर सुनिल मुखियाले जानकारी दिनुभयो ।

औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो हो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएको र सोही मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इञ्जीनियर मुखियाले बताउनुभयो ।

“अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ”, इञ्जीनियर मुखियाले भन्नुभयो, “जग्गाको मुआब्जा उहाँलाई मात्र दिए अरु ठाउँको जग्गाधनीले पनि मुआब्जा माग्छ र विवाद हुनसक्छ ।” समस्या समाधानका लागि पटक–पटक भएको प्रयास असफल भएकाले सडक निर्माणको काम प्रभावित भएको उहाँको भनाइ थियो ।

जग्गा विवादले औरही बजारको करिब पाँच सय मिटर सडक निर्माणको काम अझ सुरु हुन नसकेको इञ्जीनियर मुखियाले बताउनुभयो । यस्तै धनुषाको बिदेह नगरपालिकाको तिकौरिया बजारमा जग्गा विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि तिनकौरिया बजारदेखि करिब छ सय मिटर सडक निर्माणको कामसमेत प्रभावित भएको छ ।

सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक छेउमा कुलोबाटै सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणका समस्या भएको उहाँले बताउनुभयो । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको तिनकौरियाका स्थानीय बजारवासीको कथन छ ।

लामा रमण जेभी २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी विसं २०७३ असार ३१ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ । थपिएको म्याद २०७९ चैत ३० गते सकिने छ । विसं २०७८ चैत मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हाल्ने र विवाद सिर्जना गर्ने कार्यले निर्माणको काम समयमा अघि बढाउन नसकिरहेको इञ्जीनियर मुखियाको भनाइ छ ।

यसैबीच हुलाकी सडकअन्तर्गत सिरहाबाट सर्लाहीसम्मको करिब दुई सय ३३ किलोमिटर सडकअन्तर्गत हालसम्म एक सय ५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

जनकपुरधामस्थित कदमचोकबाट कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।

यस्तै सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीबाट कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी छ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने प्रमुख महतोले बताउनुभयो ।

सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम तीव्ररूपमा भइरहेको जनाएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इञ्जीनियर चन्द्र यादवले जानकारी दिनुभयो ।

धनुषा र सिरहा खण्ड निर्माणको कामले गति लिए पनि सर्लाही खण्डमा भने भर्खरै मात्र काम सुरु भएको छ । सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

करिब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घर टहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड–१९ माहामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही पछि धकेलिएको उहाँको भनाइ छ ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडकखण्डमा निर्माणाधीन नौवटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । मधेसकै लाइफ लाइनका रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्ररूपमा अघि बढेपछि सो भेगका सर्वसाधारण खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुका साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ ।

हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्यहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहजरूपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदम शम्शेरले आगाडि बढाएकाले पदमरोड पनि भनिने गरिन्छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...