back
NMB ad

गर्मी लागेसँगै खानेपानीको सङ्कट

Kumari bank ad

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ।

“इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भन्नुभयो, “बयलगाडा जोतेर पानी लिन दुई÷तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन् ।” खानेपानीको सङ्कट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौँ साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन् ।

करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका सात–आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन् । सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ)को घेरामा पुगेको सो बस्तीकै ब्रह्मदेव महतो बताउनुहुन्छ । सामान्यतया प्रत्येक वर्ष वैशाख–जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो । यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर राना बताउनुहुन्छ । हिउँदे वर्षा कम भएकाले खानेपानीको सङ्कट भएको पशुपतिनगरका बासिन्दाको अनुभव छ ।

झ्याकुले टोलका इनार पूरै सुकिसकेका स्थानीय सुरेन्द्र महतोको भनाइ छ । “हामी यो टोलका आठ–दश घर त पानी लिन साइकलमा गाग्री झुण्ड्याएर करिब दुई किलोमिटर परको खेतको इनारमा जान थालेका छौँ”, उहाँले भन्नुभयो । बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेको छ । मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ ।

इनार धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन् । तरकारीखेती मुख्य बाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन् । अहिले लटरम्म फल्नुपर्ने वैशाखी सिजनका लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ ।

पशुपतिनगरमा खानेपानीको सङ्कट टार्न बोरिङबाट मोटरले पानी तानेर टयाङ्कीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाका लागि काम भइरहेको छ । “ खानेपानीका धारा सञ्चालनमा ल्याउने योजना छ”, बर्दिबास–९ का वडाध्यक्ष घुरन महतोले भन्नुभयो ।

बर्दिबासमा पशुपतिनगरमात्र नभएर बिजलपुरा, विजयबस्ती, प्रेमनगर, फुलबारीटोल, किसाननगर, मनहरिपुर र कृष्णपुरसहितका बस्तीमा पनि खानेपानीका मुख्य स्रोत इनार नै हुन् । यी बस्तीका इनार पनि धमाधम सुक्दै जाँदा खानेपानी र सिँचाइको समस्या बढ्दो छ । बर्दिबासबाहेक उत्तरी क्षेत्रकै गौशाला नगरपालिकाका भरतपुर, लक्ष्मीनियाँ (पहिलेका गाविस क्षेत्र) र भङ्गाहा नगरपालिकाका रामनगर, भूचक्रपुर, प्रेमनगर र टोकासहितका बस्तीका इनार पनि सुक्दै गएका छन् ।

“पहिले खन्दा १५–१६ हातमै पानीको मूल फुट्थ्योे”, ३० वर्ष पहिले खनिएको इनार देखाउँदै भङ्गाहा–४ रामनगरका ७५ वर्षीय दीपबहादुर फुँयालले भन्नुभयो, “त्यसयता इनार सुक्दै गएपछि भित्र सानाकोठी थप्दै लगेर अहिले इनार ४० हात गहिरो भइसकेको छ ।” पानी सुक्दै गएपछि इनार गहि¥याउँदै लगिएसँगै पानीको सतह झन्–झन् गहिरिँदै गएको फुँयालको भनाइ छ ।

पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र)को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मुहान गहिरिँदै गएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन् । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेग¥यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउनुहुन्छ । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन् ।

“यसको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेग¥यान नदीमा नझर्ने व्यवस्था र ठाउँ–ठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ”, यादवले भन्नुभयो । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर)को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ । यस कार्यमा पूर्वपश्चिम राजमार्ग वरपरका स्थानीय तहले संयुक्तरूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताउनुभयो । धनुषाको मिथिला र महोत्तरीको बर्दिबास र गौशाला नगर क्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन । खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहले पनि तत्काल पहलकदमी बढाउनुपर्ने देखिन्छ ।

वि.सं.२०८० वैशाख १३ बुधवार १२:३८ मा प्रकाशित

You can share this post!

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...