back
NMB ad

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

Kumari bank ad

प्रकाश सिलवाल, काठमाडौँ (रासस) । काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् ।

विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।

पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।

पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उहाँले बताउनुभयो । अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर ९सुकाएर० पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उहाँको भनाइ छ ।

उहाँले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिनुभयो । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ ।

पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् ।

विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ ।

पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो । पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आवद्ध छन् ।

समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क रु तीन सय मात्रै रहेको छ ।

पुस्तकालयले वार्षिक रु डेढलाख तिर्दै आएको भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक रु छ लाखको हिसाब गरी अपुग रकम बक्यौतमा राख्दै आएको छ । समाजले प्रति स्क्वायर फुट रु १८ मा ७५ प्रतिशत छुट पाएकामा हाल परिषद्ले छुट नदिने जनाएको छ । पुस्तकालयले हाल जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ ।

पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थितरूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाडौँ महानरपालिकालाई प्रस्तावपत्र पठाइ आग्रह गर्दै आएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रशु अर्यालले हालै पुस्तकालयको भ्रमण गर्नुभएको थियो तर यसबारे महानगरले कुनै निर्णय गरिसकेको छैन । पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक रु ७०/८० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ । हाल पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् ।

सामुदायिक पुस्तकालयलाई प्रभावकारीरूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताउनुभयो ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसक्नुभएको छ ।

पुस्तकालयमा गत महिना संयुक्त अरब इमिरेट्स (युएइ) का नेपालस्थित राजदूतले भ्रमण गरी आफ्नो मुलुकसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिनुभएको थियो ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १६:२४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...