काठमाडौं, ०१ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भ्याटको बहानामा व्यवसायीले प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले विज्ञप्ति जारी गर्दै कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने चेतावनी दिएको हो। भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य दोब्बर बढाएपछि विभागले विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएको हो।
वस्तुको स्वभाविक मूल्यभन्दा बढी कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध रहेको स्पष्ट पारेको छ। ‘आगामी आर्थिक वर्ष २०८०–८१का लागि पेस भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्ने छ। ‘पारदर्शी तरिकाले व्यवसाय सञ्चालन गर्न कानुनबमोजिम बिलबिजक जारी गरी कारोबार गर्नुपर्छ’ ‘दायित्व पूरा नगरेको भेटिए कडा कारबाही हुनेछ।’
वि.सं.२०८० असार १ शुक्रवार १७:१६ मा प्रकाशित