back
NMB ad

राष्ट्रिय बीमा नीति अहिलेको प्रमुख आवश्यकता

Kumari bank ad

सूर्यप्रसाद सिलवाल
बीमा भनेको आफूले थोरै योगदान गरेर भोलिका दिनमा कुनै ठूलो जोखिम निम्तियो भने त्यसलाई हटाउने माध्यम हो । यसले थप अनिश्चितता एवं गरिबीबाट बचाउँछ भन्ने कुरा बुझाउँछ । जो कोहीसँग भइरहेको जोखिमलाई हस्तान्तरण गर्ने यो एक उपयुक्त बिधि हो । हस्तान्तरण गरेको जोखिम कुनै कारणले आयो भने क्षतिपूर्ति पाइन्छ ।

बीमाबारे नबुझ्दा सबैभन्दा बढी समस्या
वास्तवमा बीमा शहर बजारमा मात्रै केन्द्रीत भयो । पढेलेखेका मान्छेहरुलाई मात्र बीमाबारे सचेतना हुनु र पैसा हुनेले मात्रै बीमामा अग्रसरता देखाउनु मुख्य समस्याकोरुपमा रहेको छ । व्यक्तिले मात्रै होइन सरकारले पनि बीमाबारे बुझेन । संघ, प्रदेश र स्थानीय तह कसैले पनि बीमाबारे बुझ्नै सकेनन् । पहिलो कुरा बीमाको बारेमा जागरुकता, सचेतना नै हुनुपर्यो । प्राधिकरणले दुई वर्षदेखि नेपालमा अभियान नै चलाएको छ । २३० भन्दा बढी स्थानीय तहमा हामी गइसकेका छौं । अरु स्थानीय तहमा पुग्ने अभियान जारी छ ।

बीमाको ७० वर्षे इतिहासमा चाहिनेजति सक्रियता देखाउन हामी चुकेका छौं । यस क्षेत्रमा रहेकाहरुले जुन सक्रियताका साथ जनतामा पुग्नुपर्ने हो त्यो भएन । गरिबलाई समेट्ने प्रयास गर्नुपर्ने हो । त्यो पाटो जहिल्यै कमजोर रह्यो । सबैभन्दा पहिले केन्द्रीय सरकारलाई बुझाउनु पर्ने देखिन्छ । केन्द्र सरकारको तमाम क्षेत्रका जोखिमहरु छन् । तमाम क्षेत्रका दायीत्वहरु छन् । तर केन्द्र सरकारले सबै जोखिम आफैंले लिइरहेका कारण उसलाई समस्या बढीरहेको छ ।

केन्द्र सरकारले भएका दायित्वमध्ये अनिवार्य दायित्व मात्रै आफूले बहन गर्ने हो । बाँकी हस्तान्तरण गनुपर्दछ । त्यो हस्तान्तरण गर्ने भनेको बीमा गर्ने हो । सरकारकै घर छ त्यसको बीमा हुनुपर्दछ । यो कसैले भनिराख्नुपर्ने विषय होइन । बुझाई त्यहाँबाट शुरु गर्नुपर्दछ । सबैभन्दा पहिला सरकारका सबै सम्पतिको बीमा गर्नुपर्दछ । अहिले गाउँका मानिसले बीमा बुझेनन् के भन्नु ? मुख्य कुरा त केन्द्रमा बस्ने पढेलेखेका मानिसले नै बुझेका छैनन् । सरकारको कुरा गर्ने हो भने गाडीको तेस्रो पक्ष बीमा छ र सरकारी ठेक्कापट्टाको बीमा छ । बीमा गरिएन भने गाडीको बिलबुक नविकरण नै हुँदैन र ठेक्कापट्टा पनि शुरु हुँदैन । त्यही भएर ती दुई क्षेत्रमा अनिवार्य बीमा गरिएको हो । त्यो देखि बाहेक सरकारका तमाम क्षेत्र यतिकै छन् ।

निमुखा गरिबका लागि बीमा अनिवार्य
बीमाले वास्तवमै जोखिम कम गर्छ र सहयोग गर्छ भन्ने पाटोबाट हेर्दै हेरिएन । परिआएको बेला त्यसले तिर्छ भन्ने बुझ्नुपर्यो । आजको दिनमा बीमाबारे नीति पनि भएन । सरकारको तर्फबाट राष्ट्रिय बीमा नीति ल्याउन गतवर्ष प्राधिकरणले सबै सरोकारवालाको बैठक राखेर त्यसलाई तयार पारेर पठाएको थियो । त्यो नीति आएमा सरकारको सम्पति हुनेछ । त्यसले संघ, प्रदेश र स्थानीय सरकार एवं नियामकलाई गाइड गर्नेछ । सरकारको राष्ट्रिय बीमा नीति आयो भन्ने पनि हुन्छ । त्यसलाई सरकारले पालना गर्दै जानेछ । कुनै घटना घटेपछि मात्रै सबै कुरा आफैंले गर्ने भन्ने सरकारमा बुझाइ रहेको छ । अझ स्थानीय तहमा त घटना घटोस् भनेर कुरेर बसेको देखिन्छ । घटना घटेपछि आर्थिक सहायता लिएर जान पाइन्छ भन्ने मानसिकता कतिपयमा देखिएको छ । त्यो आर्थिक सहायतालाई बीमाका माध्यमबाट हस्तान्तरण गर्ने हो भने लाखौं मानिसलाई अनिवार्य बीमामा ल्याउन सकिन्छ । त्यो बिधिमा जानैपर्दछ ।

यो आर्थिक वर्षमा बल्ल सरकारको नीति तथा कार्यक्रममा गरिबको जिउधनको बीमा गर्नका लागि स्थानीय तहको परिचालन गरिनेछ भन्ने शब्द परेको छ । त्यसले भोलिका दिनमा केही शुरुवात हुन्छ कि भन्ने लागेको छ । हाम्रो प्रयास त्यसको कार्यान्वयनमा रहन्छ ।

खासमा निमुखा गरिबका लागि बीमा अनिवार्य विषय हो भनेर बुझाउनु आवश्यक छ । सरकारको आफ्नै बीमा कम्पनी छ । स्थापित सबै कम्पनीमा सरकारले बीमा गर्न सक्छ । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान छ । त्यहाँ बीमा गर्नुपर्दछ । बीमा संस्थानमा अनिवार्यरुपमा गर्नुपर्ने कर्मचारीको दुर्घटना बीमा गरिएको छ भने बाँकी कुनै क्षेत्रमा सरकार गएको छैन ।

सरकारले सम्पति, बाढी प्रकोप लगायत बिपतिका बारेमा बीमा गरायो भने त्यसको नोक्सानीको भार राज्यलाई पर्दैन भन्ने बुझ्नुपर्दछ । गतवर्षको कार्तिकमा बाढीले ठूलो क्षेत्रको धानबाली नष्ट गर्यो । ९ अर्ब बराबरको क्षति भयो । त्यसको बीमा गरिएको थिएन । सरकारले सबै तिर्नुपर्यो । सचेतनाको विषय अगाडि बढाउन पनि संघ सरकारले एउटा नीति ल्याउनुपर्यो । त्यो नीतिमा टेकेर प्राधिकरणले विभिन्न कार्यक्रमहरु शुरु गर्नेछ । सरकारबाट पनि बीमासम्बन्धी जनहितमा जारी गर्नुपर्ने विषयहरु जारी गर्दै जानुपर्ने देखिन्छ । यसले मानिसहरु जागरुक एवं सचेत हुनेछन् ।

४४ प्रतिशत नेपाली बीमामा आबद्ध
नेपालका बैंकहरुले २० वर्षसम्म लगातार बैंकिङ कार्यक्रम चलाएर त्यसबाट नागरिकलाई सुसूचित गर्ने काम गरेको उदाहरण छ । अरु धेरै क्षेत्रमा आफ्नै तर्फबाट वा विदेशीले सहयोग गरेर कुनै न कुनै रुपमा माथि उकास्न कार्य भएको छ । मानिसलाई बुझाइएको छ । तर बीमाको क्षेत्र भने ओझेलमा पर्दै आयो । यो दुःखद पक्ष हो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमाका कुरा प्रष्टरुपमा आउनुपर्ने खाँचो छ । सरकारले दिने निर्देशनमा अनिवार्य गरिदिनुपर्ने विषयहरु अनिवार्य गर्दै जानुपर्दछ । बीमा नगरेसम्म अरु कुनै काम हुन नसक्ने परिस्थिति सिर्जना गरिदिएमा मानिसहरु यसमा आउन बाध्य हुनेछन् । सवारी साधनको तेस्रो पक्ष बीमा नहुञ्जेल बीलबुक नविकरण नै हुँदैन । त्यसैले त्यो अनिवार्यतालाई मानिसले स्विकार गरेका हुन् । त्यसैगरी घरको बीमा गर्नका लागि बीमा नभइ कर नै नबुझिदिने हो भने मानिसहरु अनिवार्य बीमामा जानेछन् । धेरै कुराहरुमा यस्तो नीति लिनुपर्दछ ।

घरको बीमा अनिवार्य गर्ने हो भने सबै मानिसको जोखिम कम हुनेछ । बीमा गरेको व्यक्तिको घरमा कुनै क्षति पुगेमा तत्काल क्षतिपूर्ति पाइन्छ भनेर बुझाउन पनि सक्नुपर्दछ । गाउँपालिका, नगरपालिकामा कुनै सेवा लिन जाँदा नागरिक बडापत्रमा अरु कागजसँगै बीमा अनिवार्य गर्नुपर्ने उल्लेख गरिदिए नै हुनेछ । एक करोडको घरमा बस्ने चार हजारको बीमा नगर्ने भन्ने कुरा हुनै सक्दैन । त्यसैले बीमा गर्नैपर्ने अवस्था ल्याउनैपर्दछ । हाम्रो देशमा कतिपय कुरामा बाध्य नगरेसम्म त्यस कुरामा अगाडि नबढ्ने चलन पनि भएकाले जनहितका कुराहरु दर्शाउँदै बाध्यकारी बनाइनुपर्दछ । त्यसले सबैको सम्पतिको सुरक्षा हुनेछ । मान्छेको जीवन सुरक्षा हुनेछ । नीतिमा नै प्रवद्र्धन गर्दै मानिसलाई जागरुक गर्दै जानुपर्ने आवश्यकता छ ।

कोही व्यक्तिको घर भत्किनु भनेको त्यो व्यक्तिको मात्रै नभइ राज्यको सम्पतिको पनि नोक्सानी हो भनेर सरकारले बुझ्नुपर्दछ । राज्यको समग्र सम्पतिमध्ये त्यतिमा क्षति पुग्यो भन्ने पाटोबाट हेर्नुपर्ने आवश्यकता छ । नेपालमा हाल ४४ प्रतिशत नेपालीहरु जीवन बीमामा आबद्ध छन् । जुन २ वर्ष अगाडि २७ प्रतिशत थियो । यो राम्रै उपलब्धी हो । हामी अहिले दक्षिण एसियामा सबैभन्दा राम्रो स्थितिमा छौं । अझै यसलाई बढाउने तमाम ठाउँहरु छन् । बीमाका क्षेत्रहरुको वर्गीकरण गर्नुपर्ने आवश्यबता छ ।

यता हामी सबै समान आर्थिक हैसियतका पनि छैनौं । गरिबको लागि कसले हेरिदिने भन्ने प्रश्न छ । गरिबको बीमा सरकारले गरिदिनुपर्दछ । जो सँग छ उसले आफैंले बीमा गर्नुपर्यो । एउटा कुनै व्यक्तिको घर भत्कियो भने अर्काे घरलाई पनि त्यसले भत्काइदिन सक्छ । एकले गर्दा अर्काको लागि नोक्सानी हुनजान्छ । त्यो भत्किने घरले बीमा गरेमा अर्काेले पनि क्षति पाउँछ । यस्ता कुराहरु सबैले बुझ्नुपर्दछ । विशेष काठमाडौंमा यो बढी आवश्यक छ । पहिले काठमाडौं महानगरमा यो कुरा पनि भएको थियो । हामीले भुँइचालो फेस गरिसकेको हो । भँुइचालो गइसकेकापछि हामीसँग त्यसको क्षतिपूर्तिको स्रोत नै हुँदैन । तर घटनापछि घर बनाउन जरुरी हुनेछ । स्रोत नभएर सरकार पनि माग्दै हिँड्ने अवस्थामा २०७२ सालको भूकम्पले देखायो । यदी बीमाको प्रयोग गरेर दायित्व हस्तान्तरण गरेको भए माग्दै हिँड्न पर्दैनथ्यो । बीमा कम्पनीले त्यो जिम्मेवारी बहन गर्दथ्यो । यहाँ जहिले पनि ती लुकेका पाटालाई नजरअन्दाज गर्ने काम भइरहेको छ । त्यसकारण पनि संघ सरकार यसको स्पष्ट नीतिमा लाग्नुपर्नेछ ।

साँच्चै भन्दा गरिबकहाँ नै सबैभन्दा ठूलो प्रकोप आउँछ । धनीकहाँ त्यसको असर कम देखिने गरेको छ । बाढीले गरिबलाई नै डुबाउने गर्दछ । गरिबकै बस्ती बढी खत्तम हुन्छ । हुरीले उसैको छानो उडाउँछ । आगालागी उसकै घरमा हुन्छ किनकी भान्सा कोठा र सुत्ने कोठा उसकै एउटै हुन्छ । धनीहरु सजग भइसकेका हुन्छन् र उनीहरु बढी सुरक्षित स्थानतर्फ हुन्छन् । त्यसैले गरिबको घरको मूल्य तोकेर गाउँपालिका वा नगरपालिकाले नै त्यसको बीमा गराइदिनुपर्दछ । एउटा घरमा आगलागी भयो भने २५ हजार आर्थिक सहायता दिन्छु भनेर स्थानीय तहका नेताहरु तँछाडमछाड गर्दै पुग्ने गरेका छन् । त्यही पैसाले बीमा गरिदिने हो भने धेरै राहत मिल्ने देखिन्छ । बीमा गरिदियो भने घरको क्षतिको बीमा कम्पनीले सिधै भुक्तानी दिनेछ । लाखौं पर्ने घरलाई कसैले दया माया गरेर २५ हजार दिएर अर्काे बन्न त सक्दैन । तर बीमा गरिदिए त्यो घर बनाउन पूरै सक्षम भइनेछ ।

स्थानीय तह भनेको भुगोल हो, मानिस त्यहीँ बस्छ । हुनेसँग लिने र नहुनेलाई दिने नीति लिनुपर्दछ । वेलफेयर स्टेट भनेपछि सबैलाई समानरुपले सुबिधा उपलब्ध गराउने नीति लिनुपर्दछ । अर्काे बीमा सुबिधाको सबैभन्दा बढी महत्व भनेकै गरिब र त्यसबाट माथि उठ्दै गरेकालाई पर्दछ । हामीले गरिबी निवारण रणनीति ल्यायौं । गरिबी निवारणको योजना पनि बन्यो । ती गरिबबाट माथि उठिसकेका मान्छेलाई बीमाको दायरामा ल्याएनौ भने र एउटा सामान्य घटना घट्यो भने पनि उ माथि उठ्ने अवस्था नै रहन्न । उ फेरी त्यो क्षतिबाट पार पाएर माथि आउनै सक्दैन । कि बैंकमा गएर ऋण लिनुपर्छ या साहुसँग ऋण लिनुपर्छ । पछि उसले ऋण चुक्ता गर्नै सक्दैन । बीमा गरेमा अवश्य क्षतिपूर्ति पाइन्छ । उ माथि उठ्नसक्छ । त्यसकारणले यो गरिबी हटाउने एक महत्वपूर्ण माध्यम हो ।
बीमा विश्वासको व्यापार हो

सत्य कुरा गर्दा यो नागरिकको सेवा हो भनेर बुझ्नुपर्दछ । कर्णाली प्रदेश सरकारले प्रदेशमा भएका सबै नागरिकको दुर्घटना बीमा एकमुष्टरुपमा गरेको छ । गोरखाको एउटा पालिकाले सबै घरहरुको बीमा गरेको छ । शुरुवात कहीँ न कहीँबाट हुनुपर्दछ । धेरै पैसा पनि लाग्दैन । देशव्यापीरुपमा बीमाको पहुँचमा सबैलाई जोड्न सम्भव छ ।

दुईवटा कुरा बीमामा बुझ्नै पर्दछ । बीमा भनेको विश्वासको व्यापार हो । बीमा कम्पनीले विश्वास बेच्ने काम गर्दछ । एक करोडको सम्पतिको बीमाको रकम चार हजार वा बयालिस सय रुपैयाँ हुनेछ । तपाई के विश्वासमा बस्नुहुन्छ भने यो सम्पति नष्ट हुँदैन । यदि नष्ट भइहाल्यो भने म घाटामा होइन मुनाफामा जानेछु भनेर बीमा गर्नुपर्दछ । त्यस्तो बयालिस सय धेरैबाट उठाइएको हुनेछ । त्यसको एक÷दुई प्रतिशत नष्ट हुन्छ र बाँकी तिर्नसक्छौं भनेर बीमा कम्पनी पनि त्यही प्रिमियमबाट चल्ने हो । संसारभरीको बीमा चल्ने सिद्धान्त नै यही हो ।

बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन् भन्ने कुरा के हो ?
हामीकहाँ बीमामा क्लेम गरिसकेपछि वा दाबी परिसकेपछि दाबी भुक्तानीमा धेरै ढिलाई भएर पनि समस्या छ । केही अगाडि मानिसले दाबी रकम पाउन नसक्ने अवस्था बन्दै गएको थियो । त्यसले गर्दा बीमाले त पैसा दिँदैन भन्ने एउटा नकारात्मक सन्देश बजारमा गयो । जसले बीमाको बजारलाई विश्वसनीय बनाउन नसकेको हो । अब भने धेरै हदमा यो समस्या हटिसक्यो । प्राधिकरणले गतवर्ष बीमाको दाबी फछ्र्याैट वर्षकोरुपमा नै मनायो । गतवर्ष मात्रै ४६ अर्ब रुपैयाँको दाबी फछ्र्याैट भएको छ । यो वर्ष पनि त्यही हाराहारीमा फछ्र्याैट हुने अवस्था छ । प्राधिकरणले कम्पनीहरुलाई पनि दबाब दिएर यस क्षेत्रको विश्वसनीयता बढाउने काम गरेको छ ।

कम्पनीसँग पुँजी सानो हुँदा उसले बेहोर्नुपर्ने जोखिम असिमित छ । आफ्नो क्षमताभन्दा बढी दाबी बेहोर्नुपरेपछि निश्चितरुपमा उसले तिर्न सक्दैन । पुनर्बीमा पनि गर्न सक्दैन । बजारमा अस्वस्थ प्रतिष्पर्धा पनि रहेको थियो । संख्यात्मकरुपमा कम्पनी नै चालिसवटा थिए । अहिले प्राधिकरणले मर्जर पोलिसि ल्यायो । ४० वटाबाट मर्ज भएर अब ३० वटामा झरेको छ । कम्पनीको पुँजी पनि २ अर्बबाट बढाएर पाँच अर्ब पुर्याउनुपर्ने बनाएका छौं । एउटा क्षमतावान संस्थाकोरुपमा बीमा कम्पनीलाई विकास गराउने काम भएको छ । अब यी संस्थाहरुले पहिलेभन्दा बढी जोखिम लिन सक्ने भएका छन् ।

प्राधिकरणले यो बीचमा धेरै सुधार गरेको छ । पहिले उधारो बीमा समेत हुने गर्दथ्यो । पोलिसि इस्यु गरेपछि खातामा पैसा आउनैपर्छ भन्ने नीति प्राधिकरणले लियो । पोलिसि इस्यु गरेपछि दायित्व बन्दछ । पैसा नभइ तिर्ने अवस्था हुँदैन भनेर उधारो बीमा बन्द गरेका छौं । धेरै अस्वस्थ प्रतिष्पर्धा हुने, पैसा नै नलिई बीमा हुने अवस्थाबाट सुधार भएको छ । बीमामा काम गर्ने कम्पनीहरु पब्लिक लिमिटेड कम्पनी हुन् । ती कम्पनीले प्रशासनका निश्चित कुराहरुलाई पछ्याउनुपर्दछ । कम्पनीले निश्चित कागजपत्र बनाउनुपर्छ । त्यसलाई पास गर्नुपर्छ । त्यो प्राधिकरणलाई दिनुपर्छ । त्यो कुरा प्राधिकरणले गर्न लगायो । अहिले धेरै सुधार भएको छ ।

छ वटै प्रदेशमा बीमा प्राधिकरणको प्रदेश कार्यालय विस्तार
नागरिकलाई तल्लो तहबाटै सेवा दिनुपर्दछ भनेर अरु छ वटा प्रदेशमा प्रदेश कार्यालय खोलिएको छ । त्यहाँ भएका गुनासो त्यहीँबाट मेलमिलाप हुने गरेको छ । कम्पनीको अधिकार प्रत्यायोजन गरेर साना साना दाबी फछ्र्याैट त्यहीँबाट हुनुपर्दछ भनेर प्राधिकरण लागेको छ । केन्द्रबाट पनि देशका पालिकासम्म पुगेर मानिसलाई सचेत र जागरुक गराउने काम भइरहेको छ । पालिकाबाट सचेत बनाउने पहिलो दायित्व सम्झेर काम भइरहेको छ । १२ कक्षासम्म पढेका विद्यार्थीहरुलाई शिक्षा दिएर सचेत गराउने प्रयास भइरहेको छ । विस्तारै मानिसहरुलाई बुझाउने प्रयास जारी छ । अब कसैलाई पनि चन्दा दिने होइन बीमा गराउने भन्ने अभियानमा प्राधिकरण छ ।

निमुखालाई आर्थिक सहायता भन्दा पनि बीमाको दायरा बढाउने र गरिबलाई बीमा गराउने कार्यमा प्राधिकरण लागेको छ । बाढी आउन सक्छ, भोली कसैको घर प्रकोपले उडाइदिन सक्छ, आगलागी हुनसक्छ भनेर आउने घटनाका लागि आर्थिक सहायता दिने भनेर कुरेर बस्ने होइन त्यही सहायता दिन राखेको रकमले गरिबहरुलाई बीमा गरिदिनुपर्दछ । पोलिसी डिपार्चर गर्नैपर्छ । पालिकाहरुले आफ्नो पैसालाई उत्पादनशील हुनसक्ने गरी बीमामा खर्च गर्नैपर्छ । यो राजनीतिकरुपमा पनि लोकप्रीय हुने कार्यक्रम हो । कसैको घर जल्दा २५ हजार दिएर सहयोग गर्ने होइन दुई लाखको घर जलेको क्षतिपूर्ति दिलाउने बीमा गर्न प्रोत्साहित गर्नुपर्छ । त्यसले गरिबी रोकिने निश्चित छ । नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले यसमा काम गर्नुपर्दछ । जनताबाट आएको पैसालाई उत्पादकत्वको हिसाबले लगाउनुपर्दछ । आर्थिक सहायता बाँड्नु भनेको कुनै एक जना वा दुई/तीन जनालाई घटना घटेपछि दिने पैसा हो । त्यति पैसाले सिंगो गाउँको गरिबको बीमा गर्न सकिनेछ ।

पालिकाहरुले नागरिक बडापत्रमा सेवाग्राहीका लागि आवश्यक कागजपत्रमा बीमा अनिवार्य गरिदिए बीमाको पहुँच स्वत बढ्नेछ । सरकारले कानून नै बनाउन पर्दछ भन्ने पर्दैन । अहिले विदेशमा रोजगारीको लागि जाने मानिसहरुले बीमा नगरी जानै पाउँदैनन् । आफ्नै हितका लागि बीमा हो भनेर बुझाउन सक्नुपर्दछ । व्यक्तिको घर बचाइदिनका लागि पालिकाले पहिले नै व्यक्तिको बीमाको कागज माग्नुपर्दछ । पालिकाको दायित्व पनि घट्नेछ । २०७२ सालमा आएको भुँइचालोमा काठमाडौंमा धेरै घर भत्किए । बीमा गर्नेले पैसा पाए नगर्नेले पाएनन् । यस्ता कुराहरुलाई प्रवद्र्धन गर्दै जानुपर्दछ । सबै चीजको बीमा हुनसक्छ भनेर सचेतना बढाउने र मानिसलाई जागरुक पार्ने प्राधिकरणको अभियान जारी छ ।

२५ लाखको गाडीको लागि १७/१८ हजारको बीमा गर्न तयार हुनेले १ करोडको घरको लागि ४ हजारको बीमा गर्न तयार नहुनु दुःखद हो । प्राधिकरणले सबैभन्दा पहिले सरकारले आफ्ना पुरै सम्पतिको, आफ्ना पूरै व्यक्तिहरुको बीमा गर्नुपर्दछ भनेको छ । सरकारले अब बीमाका लागि स्थानीय तहलाई परिचालन गर्ने कुरा गरेको छ त्यसको कार्यान्वयन राम्रो हुनुपर्दछ । मानिसहरु भूगोलमै बस्ने हो । स्थानीय तहमै बस्ने हो । राजधानी नै भएपनि स्थानीय तह अर्थात् नगरपालिका, उपमाहानगरपालिका, महानगरपालिकामा मानिसहरुको बसोबास हुनेछ । कतिपय कुरामा स्थानीय तहबाटै अनिवार्य गर्दा यसको नतिजा राम्रो देखिनेछ । तेस्रो पक्ष बीमा भनेर सवारी बीमा हुन थालेपछि जसरी सडक, बाटो बन्द हुन छाड्यो । हड्ताल हुन छाड्यो ।

अब त यातायात व्यवसायी बरु प्रिमियम बढाउनुस् दुर्घटनाको बीमाको रकम ५ लाखबाट बढाउनुपर्छ भन्नेमा पुगेका छन् । त्यो अभ्यासमा प्राधिकरण जाँदैछ । फाइदा हुनेछ भन्ने बुझेपछि विश्वास पनि बढ्दै बीमा गर्नेहरु बढ्नेछन् । भूगोलकै कारण पनि नेपालीहरु उच्च जोखिममा छन् । त्यसैले सरकारले बीमासम्बन्धी स्पष्ट नीति लिनुपर्दछ । यहाँ बीमा नतिरी कम्पनी गायव हुने भन्ने भ्रम पनि छ । अब सबै ढुक्क भए हुन्छ । बीमाको सबै सुरक्षा सरकारसँग छ । कसैले पैसा खाएर भाग्न सक्दैन । सबै कोषको पैसा प्राधिकरणमा राख्नुपर्छ । प्राधिकरणको अनुमति बिना पैसा चलाउन पनि पाउँदैनन् ।

पालिकाको पाँचवटा वडा अध्यक्षले कुरो बुझेपछि पालिकामा बीमाको काम बन्छ भन्नेमा विश्वस्त भएर प्राधिकरण अहिलेसम्म २३० पालिकामा पुगिसकेको छ । प्रत्यक्षरुपमा भेटेर प्राधिकरणले बुझाउने पर्यत्न गरिसकेको छ । आउने वर्षमा १ सय ५० भन्दा बढी नयाँ पालिकामा पुग्ने लक्ष्य छ । सबै प्रदेशमा खुलेका कार्यालयलाई पनि परिचालित गरिनेछ । विस्तारै राम्रो नतिजा देखिँदै जानेछ ।
यता सुदूर पश्चिममा सरकारको बीमा कार्यक्रम शुरु गर्न थालिएको हुनाले त्यहाँको सरकारले सल्लाहसुझाव पाउँ भनेर पत्र पठाउने काम गरेर अगाडि बढेको छ । कतिपय पालिकाहरुले बीमा कार्यक्रम बनाउँदै छौं गाइड गराइदिनुहोला भनेको छ । सबै क्षेत्रलाई आवश्यक सहयोग प्राधिकरणले गरिरहेको छ । पैसा हुनेलाई बीमा गर्न लगाउनुपर्दछ भने पैसा नहुनेलाई पालिकाले बीमा गरिदिनुपर्दछ । तल्लो तहका मानिसले बीमाको फाइदा पाउन थालेपछि बल्ल बीमा फस्टाउनेछ ।

अध्यक्ष, नेपाल बीमा प्राधिकरण

वि.सं.२०८० साउन १६ मंगलवार १०:३४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...