back
NMB ad

मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो : वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला   

Kumari bank ad

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उहाँले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उहाँलाई साक्षात भगवान् नै मान्दछन् । उहाँले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उहाँमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उहाँ आफैँले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसक्नुभएको छ अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गर्नुभएको छ ।

केही समयअघि उहाँले हृदय नामक पुस्तक पनि बजारमा ल्याउनुभएको थियो, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ । पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गर्नुभएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरिएको यो पुस्तक पढेपछि लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथामात्र नभई उहाँको व्यवस्थापकीय गुणबारे अवगत हुन्छ । कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रका लागि पनि उदाहरण बन्न सक्दछ । प्रस्तुत छ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक तथा सामाजिक अभियन्ता डा कोइरालासँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

 नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दो देखिन्छ । यसको मुख्य कारण के होला ?    
–नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहारविहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडाबान्ताजस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ । खासगरी पछिल्लो समय युवा वर्गमा मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो ।

 मुटुरोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्ने हुन्छ ?    
–मुटुरोगका कतिपय कारण जस्तैः उमेर, लिङ्ग, जेनिटिक जस्ता कुराहरु हाम्रो अधीनमा हुँदैनन् । तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन् । धुम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवं मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ । वायु प्रदूषणले पनि मुटुरोगलगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ । समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्र्याइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ । बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरु मुटुका रोगी बन्नुपरेको छ । मानिसहरुमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ ।

 नेपालमा मुटु रोगको उपचार सेवाको पहुँच आम जनतासम्म कसरी पु¥याउन सकिएला ?    
– स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हुँदा सबैको पहुँचमा पु¥याउन आवश्यक छ । कतिपय स्वास्थ्य सेवालाई विकेन्द्रित गरी स्थानीय तहसम्म पु¥याउन जरुरत हुन्छ भने कतिपयलाई केन्द्र वा प्रमुख सहरी क्षेत्रसम्म पु¥याउँदा पनि हुन्छ । मुटु रोगको प्रारम्भिक पहिचान गर्न सकिने स्वास्थ्य सेवालाई विकेन्द्रित गरी जिल्ला अस्पतालदेखि स्थानीय तहका स्वास्थ्य केन्द्रहरुमा पु¥याउनुपर्छ । विशेषज्ञसहितको सेवालाई राजधानीलगायत प्रमुख सहरहरुमा पु¥याउनुपर्छ । अहिले काठमाडौँमा गङ्गालाल, मनमोहन कार्डियो थोरासिक सेन्टरमा मुटुरोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ । वीर अस्पतालमा असीको दशकमा सुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ भने उपत्यकाबाहिर चितवन, पोखरा, बुटबल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटुरोगको स्तरीय उपचार सेवा उपलब्ध छ ।

 नेपालको मुटुरोगको उपचार सेवा विश्वका अन्य देशको तुलनामा कत्तिको स्तरीय छ ?    

–नेपालमा मुटुरोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन । धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली चिकित्सकहरु त्यहाँका भन्दा कम हुनुहुन्न । नेपालको आम जनतालाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ । गङ्गालाल हृदयरोग केन्द्र देशकै महत्वपूर्ण अस्पतालमा रुपान्तरण भएको छ । त्यस्तै मनमोहन कार्डियो थोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी रहेको छ ।

 तपाइँकै पहलमा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) स्थापना गर्दै हुनुहुन्छ । यस्तो अस्पताल स्थापना गर्नुपर्ने के आवश्यकता देख्नुभयो ?    
–बाल स्वास्थ्यलाई समग्र रुपमा हेरिनुपर्छ, मुटुको उपचारका रुपमा मात्रै होइन । स्वास्थ्य सेवामा लागेको लामो अनुभवबाट यो निष्कर्षमा पुगिएको छ । समयमा सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरुले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुस भयो । त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाएँ । कान्तिजस्तो बालबालिकाको डेडिकेटेड अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन । त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौँमा एक विशिष्टीकृत बाल अस्पताल (काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)) नामक बाल अस्पताल निर्माण गरिँदैछ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ ।

 बाल अस्पताल नै खोल्नुपर्ने इच्छा कसरी जागृत भयो ?    
–नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नो पाँचाँै जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन् । मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो । त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने इच्छा जागृत भएको हो ।

 सरकारले हालै उच्च ओहोदाका व्यक्तित्वहरुको उपचार स्वदेशमै गर्नका लागि तपाइँसमेत रहेको एक समिति गठन गरेको छ । यसलाई तपाइँले कसरी लिनुभएको छ ?     
–सरकारले नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनाका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तोसमेत देखिएकाले स्वास्थ्य उपचार समिति गठन गरेको छ । यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ । तर यस किसिमको स्वास्थ्य सेवा भिआइपीलाईलाई मात्र दिने भन्ने नभई सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ । एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भिआइपीहरुको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरुबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भएकाले हामी चिकित्सकहरु खुसी नै भएका छौँ ।

 केही समयअघि यहाँकोे हृदय नामक पुस्तक पनि प्रकाशित भएको छ । पुस्तक लेख्ने उत्प्रेरणा कसरी मिल्यो ?    
–मैले अध्ययनपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा रहेर काम गर्ने अवसर पाएँ । जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु । आफूले जीवनमा भोगेका सङ्घर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छु । तीसवर्षे जागिरे जीवनका अनगिन्ती यादहरु समेटिएको पुस्तकमा अनेक तनाव, छटपटी र खुसीका क्षणहरु पनि पाउनु हुनेछ । जो सुकैले पनि प्रतिबद्ध भएर लाग्यो भने जस्तोसुकै समस्याको पनि समाधान गरी सफलता पाउन सक्छ भन्ने सन्देश दिन खोजिएको छ ।

वि.सं.२०८० साउन २४ बुधवार १२:०७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...