back
NMB ad

मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी   

Kumari bank ad

चितवनको माडी नगरपालिका-६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालय परिसरमा पालेका हाँस ।

चितवन, २३ भदौ : जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गर्नुभएको छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् ।

चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आउनुभएको छ । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्नुहुन्छ, “पहिले घरबाट खर्चको जोहो मिलाउन कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।”

विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पढाइसँगै कामअनुसार मासिक रु तीन हजार हाराहारी कमाउने गरेको छु ।” अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउनसक्ने उहाँले बताउनुभयो ।

एसइई परीक्षा उत्तीर्ण गरेपछि अध्ययनको बाटोलाई पूर्णबिराम लगाउनु लाग्नुभएका स्थानीय राजेश महतो अहिले यस कार्यक्रममा जोडिएसँगै अध्ययनलाई निरन्तरता दिन थाल्नुभएको छ । उहाँ अहिले कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । विद्यालयमा नै बसेर यस कार्यक्रम सहभागी हुँदै आउनुभएका उहाँ अहिले महिनाको रु आठ हजार कमाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पढ्न पाइँदैन कि भन्ने थियो । अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ ।” आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ गरेको दुःख भविष्यका लागि सहज बन्नेछ भन्नेमा विश्वस्त छु ।”

समूहमा रहेका साथीहरूले विद्यालय समयमा मात्रै काम गर्ने भएकाले त्यो कामको रेखदेख गर्न उहाँ विद्यालयमा नै बस्ने गर्नुभएको छ । विद्यालयले यी समूहमा रहेका विद्यार्थीबाट १२ कट्ठा जग्गामा धान रोपाइँ गरेको छ । तरकारीखेती समेत गर्दै आएको छ । यस्तै ३० जना विद्यार्थीले बाख्राको पाठा घरमा लगेर पालेका छन् भने चार सय वटा हाँस बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।

सोही कार्यक्रममा सहभागी कक्षा ११ की सञ्जीता लामिछाने घरमा खासै काम गर्ने बानी नपरे पनि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि घरमा समेत काम गर्ने बानी परेको बताउनुहुन्छ । अध्ययनका लागि परिवारसँग पैसा माग्दा हुने समस्या अहिले नरहेको उहाँको भनाइ छ । उहाँ अहिले विद्यालयमा साथीहरूसँग काम गर्दा छुट्टै महसुस हुने गरेको सुनाउनुहुन्छ । अहिले पढाइका लागि परिवारसँग खर्च माग्नु नपरेको भन्दै उहाँले भन्नुभयो, “अब कृषि कर्म गरेर खान सक्छु भन्ने आँट यस कार्यक्रमले दिएको छ ।”

आर्थिक वर्ष २०७८/८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ । विद्यालयले तीन वटा समूह बनाएर यस कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । तीन वटा समूहमार्फत एक सय ३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्नबालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिनुभयो ।

अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक रु तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीलाई श्रमप्रति माया जगाउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ ।”

विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले विपन्न वर्गका विद्यार्थीलाई अध्ययनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयले उत्पादित सामग्री बिक्री वितरण गरिदिने गरेको छ । तरकारी र खाद्यान्नजस्ता वस्तु स्थानीय बजारमा समेत बिक्री भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस कार्यक्रममा जोडिएका विद्यार्थी पढाइमा समेत लगनशील बन्न थालेका छन् ।”

जिल्लामा हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी तीन वटा विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस कार्यक्रमका लागि गत दुई आवमा केन्द्रले विद्यालयलाई प्रतिवर्ष रु १०/१० लाखका दरले सहयोग गरेको थियो ।

वि.सं.२०८० भदौ २३ शनिवार १०:४७ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...