back
NMB ad

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण, कसले के भने ?    

Kumari bank ad

काठमाडौँ, १६ असोज: सङ्घीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

“पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ । त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महङ्गी अत्यन्त बढेको छ”, उहाँले भन्नुभयो, “चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।” बजार अनुगमन प्रभावकारी बनाउन उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताउनुभयो । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्नुहुँदै उहाँले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताउनुभयो । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उहाँको माग छ ।

सांसद गगनकुमार थापाले चिकित्सकमाथि भइरहेको आक्रमणको निन्दा गर्नुहुँदै स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । आन्दोलनरत चिकित्सक र सरकारबीच सम्झौता भएको २४ घण्टा नबित्दै चिकित्सकमाथि फेरि आक्रमण हुनु निन्दनीय रहेको बताउनुहुँदै थापाले उहाँहरुका जायज माग र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गम्भीर भएर तत्काल कानूनी तथा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद किरणकुमार साहले चिकित्सकमाथि भइरहेको आक्रमण र विभिन्न स्थानमा घरेलु हिंसा भइरहँदा सुरक्षा प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो । सांसद गोमा लाभ (सापकोटा)ले खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको बताउनुभयो । अहिले मधेश प्रदेशमा दैनिक आठ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उहाँको भनाइ छ । सांसद जुलीकुमारी महतो महासेठले मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद एकनाथ ढकालले सिंहदरवार क्षेत्रमा रहेको नेपालको पहिलो संसद भवन जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि माग गर्नुभयो । “सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौदेखि बेहाल छ । जीर्ण अवस्थामा रहेको एक सय वर्ष पूरानो राणाकालिन भवनको उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै भएको छ । भित्तामा झारपातले जेलिएको छ”, उहाँले भन्नुभयो, “विसं २०१५ मा पहिलोपटक संसद बैठक बसेको यो भवनलाई पुनःनिर्माण गरेर पुरातात्विक महत्वको भवनका रुपमा संरक्षण गर्नुपर्छ ।” सिंहदरवार क्षेत्रभित्रकै निर्माणाधीन संसद भवन तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेकोबारे पनि उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर शाहीले केही समयअघि मुगुको गमगढीमा आगलागीबाट आठ घर नष्ट भएकोमा पीडितलाई राहतका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । सांसद गणेश पराजुलीले उपत्यकाभित्रका सडक निकै साँघुरा भएकाले त्यसलाई विस्तार तथा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिनुभयो । उपत्यकाभित्रका बाटो विस्तारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने उहाँको माग छ ।
अरनिको राजमार्ग निर्माण र विस्तारका काममा ढिलाइ भइरहेको विषय सांसद गोकुल बाँस्कोटाले आजको बैठकमा उठाउनुभयो । त्यो राजमार्ग विस्तार र निर्माणमा ढिलाइ हुँदा त्यहाँ दुर्घटना बढेको उहाँको भनाइ छ ।

सांसद छिरिङ डम्डुल लामा भोटेले बाढी र पहिरोका कारण हुम्लाको रिप गाउँ निकै नै जोखिम अवस्थामा रहेकाले स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद अशोककुमार चौधरीले तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको बताउनुभयो । सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषय संसदमा उठाउनुभयो । अर्का सांसद सांसद गीता बस्नेतले मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएको र महिलाले असुरक्षित महुुस गरिरहेको धारणा राख्नुभयो ।

वि.सं.२०८० असोज १६ मंगलवार १६:४६ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१४

काठमाडौँ, १५ जेठ : सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता...