back
NMB ad

झाडी फाँडेर सामूहिक सुन्तला खेती   

Kumari bank ad

बादुक (म्याग्दी), १२ कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो ।

विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो ।

बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले विसं २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाउनुभयो । बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पर्यो ।

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु ५० हजारदेखि एक लाख सङ्कलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन् ।

“पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रुपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौँ”, बादुकका बासिन्दासमेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भन्नुभयो, “सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाँडेर सुन्तला बगैँचा बनाउन सफल भएका छौँ ।”

एक सय ३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन् । सुन्तलासँगै चार सय बोट एभोकाडो लगाएकामा पहिरोले क्षति गरेर अहिले एक सय बोट मात्र छन् । पहिरोले तीन सय बोट एभोकाडोमा क्षति गरेको छ । सुन्तला बगैँचाभित्र तोरीखेती र मौरीपालन गरेका छन् ।

“पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौँ”, स्थानीय बेगबहादुर पुर्जाले भन्नुभयो, “झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौँ । अहिलेसम्म सोचेको भन्दा राम्रो भएको छ ।”

उहाँका अनुसार ५५ जनाले रु एक–एक लाख र पाँच जनाले रु पचास–पचास हजार सेयर लगानी गरेका छन् । फार्म स्थापना गर्न हालसम्म करिब रु ४० लाख खर्च भएको छ । फार्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरूको भनाइ छ । जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन् ।

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ । गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ । सेयर लगानी गरेकाहरूबाट सुन्तलाले उत्पादन नदिँदासम्म वार्षिक रु दुई हजार पाँच सयका दरले नगद अथवा पाँच दिन बराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन् । बगैँचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट सङ्कलन गरेको रकम परिचालन गरिएको छ । रु २० लाखको कोषबाट अर्का एक जना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामूहिक सुन्तला खेतीलाई सहयोग गरेको छ । कल्लेरीमा सिँचाइ योजना निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

“बादुकको सामूहिक सुन्तला खेती म्याग्दी जिल्लामै नमूना देखिएको छ”, उहाँ भन्नुभयो, “बाँझिएको जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना र गाउँलाई समृद्ध बनाउन बादुकवासीको अभियान अन्यका लागि पनि अनुकरणीय छ ।”

वि.सं.२०८० कात्तिक १२ आइतवार ०७:१८ मा प्रकाशित

You can share this post!

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...