back
NMB ad

हराएको पहिचान फर्काउँदै चितवनको तोरी   

Kumari bank ad

नारायण अधिकारी
चितवन, ४ माघ : तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो । तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको छ । चितवनले हराएको पहिचान फर्काउने भएको छ ।

देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ । वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताउनुहुन्छ । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ ।

रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो । उहाँको भनाइमा विसं २०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो । चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मी बताउनुहुन्छ ।

विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ । उहाँको भनाइमा विसं २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ । अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ ।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो । करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताउनुहुन्छ । बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उहाँ बताउनुहुन्छ । पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन् । बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ ।

रेग्मीले भन्नुभयो, “धानभन्दा बढी तोरी लगाउन थालिएको छ, उत्पादन बढेको छ, यसलाई सरकारले अनुसन्धान गरेर प्रवर्द्धन गर्नुपर्छ । तोरीको तेलको मूल्य पाएपछि किसानले क्षेत्रफल पनि बढाएका छन् ।”

जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएकाले पनि किसान तोरीखेतीतर्फ केन्द्रित भएको पाइन्छ । माडी नगरपालिका–३ का ओमप्रकाश महतो जङ्गली जनावारले तोरी बालीलाई नरुचाउने भएकाले सुरक्षित बाली भित्र्याउन पाउने भएपछि तोरीखेती गर्न थालेको बताउनुहुन्छ । चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका धेरै खेतीयोग्य जमिन छन् ।

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबालीमा क्षति गर्ने गर्दछन् । उहाँ मात्रै होइन अहिले सो गाउँ नै तोरीमय भएको छ । उहाँले भन्नुभयो, “अहिले हाम्रो क्षेत्रमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरीखेती गरिएको छ । तोरी छिटो पाक्ने र मूल्य पनि राम्रो पाउने भएकाले सबैको ध्यान यस बालितर्फ गएको छ । यो सजिलो खेती हो ।”

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताउनुभयो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।

वर्षे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरीखेती गरिएको छ । तोरीबाली छिटो पाक्ने तथा चैते धान लगाउन सहज हुने भएकाले किसानको ध्यान यस बालीतर्फ गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मुसुरो र गहुँबालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।”

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँकतै मात्रै यी बाली लगाइएको पाइएको उहाँले बताउनुभयो । तेलहन बाली प्रवर्द्धनका लागि सरकारलेसमेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको हुनसक्ने उहाँको भनाइ छ ।

बागमती प्रदेशको बीउबिजन गुणस्तर केन्द्रका प्रमुख राजन ढकाल उन्नत जातको बीउ वितरण गर्न सकिएमा थप उत्पादन गर्न सकिने बताउनुहुन्छ । तोरी उत्पादनमा चितवनले राम्रो फड्को मारेकाले सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययन, अनुसन्धान गरेर थप उत्पादन वृद्धितर्फ लाग्नुपर्छ ।” चितवनको तोरी राम्रो गुणस्तरको मानिन्छ । यहाँ उत्पादन भएको तेल देशका प्रमुख सहरमा पुग्ने गर्दछ ।

वि.सं.२०८० माघ ४ बिहीवार १४:२४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...