काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनी अझै १ करोड ७३ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । यद्यपि अघिल्लो वर्षको चौंथो त्रैमासको तुलनामा भने कम्पनी नोक्सानी घटाएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाले नोक्सानी घटाउनमा टेवा पुगेको हो । गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी २८.२३ प्रतिशतले बढेर ८ करोड ९९ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चौंथो त्रैमासमा कम्पनीको यो आम्दानी ७ करोड १ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २२ करोड २७ लाख ९० हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
यस्तै, उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको छ । अघिल्लो आवमा ११ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको कम्पनीको यो आम्दानी गत वर्ष भने ४ रुपैयाँ ९२ पैसाले घटाएको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५ रुपैयाँ ६१ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन १६ सोमवार १३:५३ मा प्रकाशित