back
NMB ad

नरैनापुरमा भारतीय तरकारी विस्थापित   

Kumari bank ad

जानकी, ३ जेठ । बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उहाँको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए । यहाँका सर्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे । नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीयहरू तरकारी बेच्न नरैनापुरका गाउँ–गाउँ पुग्थे । तर अहिले दिन र समय दुवै फेरिएको छ ।

हिजोआज आलिफ हरेक छाक हरियो तरकारीसँग भात खाने गर्नुहुन्छ । उहाँले आफूमात्र नभई नरैनापुरका अधिकांश सर्वसाधारणलाई हरियो तरकारी खुवाउनुभएको छ । “पहिले ढिके नुनसँग भात खाइन्थ्यो, तर अहिले तरकारी भएन भने भात–रोटी घाँटीबाटै छिर्दैन”, उहाँले भन्नुभयो ।

आलिफले आफ्नै घर छेउको १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । पहिला बसिबियाँलो गरेर दिन बिताउने आलिफलाई हिजोआज बिहान–बेलुका तरकारी बारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । तरकारी बारीको काम श्रीमतीलाई जिम्मा दिएर उहाँ दिउँसोको समयमा तरकारी बिक्री आफ्नै गाउँ र छिमेकी गाउँसम्म डुल्नु पनि हुन्छ ।

“दिउँसोको समयमा म घरबाट १५ किलोमिटर टाढासम्म तरकारी बिक्री गर्न पुग्छु”, उहाँले भन्नुभयो, “त्यो समय म श्रीमतीलाई बारीको हेरचाह गर्नुु भनेर ढुक्क हुँदै तरकारी बिक्री गर्न जान्छु ।” आलिफ अली नरैनापुरमा व्यावसायिक तरकारी खेती गर्ने पहिलो र एक्ला किसान हुनुहुन्छ ।

उमेरले ६० पार गर्नुभएका आलिफ निकै फुर्तिला हुनुहुन्छ । उमेर छिप्पिए पनि काममा युवाभन्दा कम हुनुहुन्न उहाँ । आफूले उत्पादन गरेको आफ्नो बारीको तरकारीलाई उहाँले आफ्नो बालबच्चालाई जस्तै माया गरेर हरेक साँझ बिहान हुर्काउनुहुन्छ । राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्न उहाँले बिर्सनुहुन्न ।

रोगब्याधी लाग्न नदिन समय–समयमा औषधि छर्किनुहुन्छ । कसैलाई नअह्राएर आफैँले गोडमेल गरेर झार ओखेल्नुहुन्छ । तरकारीमा कुनै समस्या आउन नदिन उहाँ दिनरात आफैँ खेतबारीमा धाउनुहुन्छ । “बारी छाडेर मलाई कहीँकतै जान मन लाग्दैन । चराले आफ्ना बच्चालाई काखीमा च्यापेर बसेजस्तै मलाई पनि तरकारी बारीमा बसिरहन मन लाग्छ । एक दिन बारी छाड्दा नमज्जा लाग्छ”, उहाँले भन्नुभयो ।

पहिले उहाँले धान खेतीमात्र गर्नुहुथ्यो । राप्ती नदीमा आएको बाढीले एक–एक गरी सबै जमिन बगर बनाएपछि अरुजस्तै आलिफ र उहाँको परिवार पनि बेघरबार भएका थिए । नदीसँग जुध्न नसकेपछि उहाँ आफ्ना लालावाला लिएर जङ्गल छेउ (नयाँबस्ती) पुग्नुभयो । नयाँ बस्तीमा उहाँले जङ्गल फाँडेर १० कठ्ठा जमिन बनाउनुभयो । अहिले सोही जमिनमा आलिफले तरकारी खेती गर्दै आइरहनुभएको छ ।

पुख्र्यौली जमिन नदीले बगर बनाएपछि निरास हुनुभएका आलिफले जङ्गल फाँडेर बनाएको जमिनमा उत्पादन भएको अन्नपातले सात जनाको परिवार पाल्न मुस्किल परिरहेको थियो । उहाँले मजदुरीका लागि भारत या नेपालगन्ज जाने निर्णय परिवारलाई गर्नुभयो तर उहाँका परिवारले मजदुरीका लागि बाहिर नजान सुझाव दिएपछि उहाँले आफ्नै बारीमा तरकारी खेती गर्ने योजना बनाउनुभयो र अघि बढ्नुभयो ।

उहाँले पहिलो वर्ष बन्दागोभी र टमाटर लगाउनुभयो । तर उहाँले उत्पादन गरेको तरकारीभन्दा भारतीय तरकारी सस्तो भएकाले बिक्री भएन । बन्दागोभी र टमाटर सडेर खेर गयो । ‘बन्दागोभी बिक्री नभएर धेरै घाटा लाग्यो । त्यसपछि लगाउन छाडेँ”, उहाँले भन्नुभयो । यो समयमा उहाँको बारीमा तीन किलोग्रामका काउली छन् ।

उहाँले अहिलेसम्म १० क्विन्टल काउली बिक्री गरिसक्नुभएको छ । टमाटर फलेर पाक्ने तरखरमा छ । एकथरिको काउली बिक्री भइरहेको छ । अर्कोथरि काउली तयार हुँदैछ । “एकैपटक धेरै उत्पादन गर्दा बिक्री गर्न सकिँदैन । अलिअलि गरी रोप्दा बिक्री गर्न सजिलो हुन्छ । ग्राहकले सधैँभरि तरकारी पनि पाइरहन्छन्”, आलिफले भन्नुभयो ।

उहाँको परिवार यही तरकारी खेतीबाट पालिएको छ । दुई छोरालाई कक्षा ८ सम्म पढाउनुभएका आलिफले दुई छोरीको विवाह पनि तरकारी खेतीबाट भएको आम्दानीले गरिदिएको बताउनुभयो । “अरु आउने स्रोत केही छैन । घरको सबै खर्च यही तरकारी खेतीबाट भएको आम्दानीले चलाउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले तरकारी पैँसाले बेच्नु हुँदैन । धान, गहुँ, मसुरी, तोरीसँग साट्नुहुन्छ । गाउँघरमा पैसा नहुने भएकाले अन्नबालीले तरकारी किन्ने गरेको उहाँले बताउनुभयो । धान, गहुँको मूल्यको आधारमा तरकारी दिने गरेको उहाँले बताउनुभयो । “पैसाभन्दा अन्नसँग तरकारी साट्न सजिलो मान्छन्”, उहाँले भन्नुभयो, “तरकारी बेचेर जम्मा भएको अन्न घरमै आएर ब्यापारीले लैजान्छन् ।”

उहाँले तरकारी बारीमा आफ्नो गोठबाट निस्केको प्रयोग गर्ने गरेको बताउनुभयो । यदि आफ्नो गोठको मल नपुगेको खण्डमा गाउँबाट कम्पोष्ट मल किनेर प्रयोग बारीमा हाल्न गरेको आलिफले बताउनुभयो । रासायनिक मल र विषादी प्रयोग भएको तरकारीले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाएपछि कम्पोष्ट मलमा जोड दिएको उहाँले बताउनुभयो । “युरिया, डिएपी र पोटास कहिलेकाहीँमात्र हाल्छौँ । विषादी नछर्की नहुने भएपछि मात्र छर्किन्छौँ”, उहाँले भन्नुभयो ।

आलिफले आफ्नै बारीमा तरकारी उत्पादन गरेपछि भारतीय तरकारीको भर पर्ने अवस्थाको अन्त्य भएको नरैनापुर गाउँपालिका–५ का अगुवा विनय दीक्षितले बताउनुभयो । दीक्षितले भारतीय तरकारीभन्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी ताजा र मीठो भएको पनि बताउनुभयो ।

“आलिफले उत्पादन गरेको तरकारीमा रासायनिक मल र विषादी एकदमै कम प्रयोग भएको देखेपछि यहाँका अधिकांशले उहाँले उत्पादन गरेको तरकारी खान थालेका छौँ”, दीक्षितले भन्नुभयो, “यहाँको तरकारी ताजा र अग्र्यानिक भएकाले मीठोमात्र नभएर स्वास्थ्यका लागि लाभदायक हुन्छ ।”

तरकारी बेच्नका लागि सानो गाडी किन्ने जुगाडमा हुनुहुन्छ आलिफ । तरकारीबाट भएको आम्दानीले घर खर्च चलाउन ठिक्क भएको हुनाले अनुदानमा गाडी पाइन्छ कि भन्ने पर्खाइमा हुनुहुन्छ आलिफ । तर अनुदान दिने सरकारी कार्यालयका कर्मचारीसम्म जाने पहुँच उहाँसँग छैन । न त अनुदानका लागि खुल्ने सूचना नै थाहा पाउनुहुन्छ उहाँले । “तरकारी बिक्री गर्ने गाडी भइदिएको भए नरैनापुरमा भारतीय तरकारी आउन बन्द गराइदिन्थे”, उहाँले भन्नुभयो, “गाउँ–गाउँमा पुगेर यहाँका सर्वसाधारणलाई ताजा र अग्र्यानिक तरकारी खुवाउँथे ।”

नरैनापुर गाउँपालिका कृषि शाखाले आलिफलाई आवश्यक आर्थिक एवं प्राविधिक सहयोग गर्ने शाखा प्रमुख सदन भण्डारीले बताउनुभयो । उहाँले कृषकको मागबमोजिम सहयोग गर्दै आएको बताउँदै उहाँले सहयोग माग गरे सहयोग गर्न सकिने स्पष्ट पार्नुभयो । “तरकारी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष नीति लिएको छ । माग भए सहयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

वि.सं.२०८० जेठ ३ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...