back
NMB ad

हिउँमा खेल्दै पढ्दै विद्यार्थी   

Kumari bank ad

मनाङ, १२ फागुन : मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उहाँले भन्नुभयो, “एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।”

उहाँले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिनुभयो । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशङ्कर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उहाँको भनाइ छ ।

यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताउनुभयो । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् ।

यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।” जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उहाँले बताउनुभयो ।

प्रधानाध्यापक पन्थीले भन्नुभयो, “आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेषरुपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।”

वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताउनुभयो । एसइईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उहाँको भनाइ छ ।

आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उहाँले बताउनुभयो । पालिकाले रु ५० लाख वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रतिविद्यार्थी रु एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जानकारी दिनुभयो ।

मनाङका अन्य विद्यालय फागुन १५ पछि मात्रै खुल्नेछन् भने नार्पाभूमि गाउँपालिकाका विद्यार्थीको पठनपाठन सञ्चालन भइरहेको छ । वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिकसत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिषा विकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक त विकट छ । सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ यहाँ अहिले बाक्लो हिउँ छ । चिसो अत्यधिक भएकाले गाउँ फर्किने अवस्था छैन । त्यसैले यहीँ चालु शैक्षिकसत्र सकाएर मात्रै फर्कन्छौँ । यसले विद्यार्थीलाई पनि सहज भएको छ ।”

गौरीशङ्कर मावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी छुपी गुरुङ हिउँसँग खेल्दै पढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ परे पनि रमाइलो गरी खेल्दै पढ्न पाएका छौँ ।”

मौसम चिसो भए पनि हिउँ खेल्दै पढ्न पाएको कक्षा ८ मा अध्ययनरत विवेक गुरुङले बताउनुभयो । ढिलागरी परेको हिमपातले चिसो बढे पनि विद्यार्थी शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन भने सञ्चालन गरिएको छ ।

वि.सं.२०८० फागुन १३ आइतवार ०६:५९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...