back
NMB ad

नाम, दाम र प्रतिष्ठाको लक्ष्य लिएर दौडिन्छिन् खाली खुट्टा दौडने गुडिया

Kumari bank ad

नवलपरासी । जिल्लाको सीमावर्ति गाउँ गुठीपर्सौनीमा जिल्लास्तरीय एथलेटिक्स प्रतियोगिता हुँदै थियो। तीन कक्षा पढ्ने गुडिया गुप्ता गाउँका अन्य केटाकेटीसँग प्रतियोगिता हेर्न गएकी थिइन्। गन्जी र कट्टु लगाएर खुला मैदानमा दौडिरहेका एथलेटिक्स खेलाडीबाट उनी यति प्रभावित भइन्, उनले संकल्प गरिन्, ‘म पनि कुनै दिन धाविका बनेर हावासँग कुरा गर्छु।’

उनै गुडिया पूर्वाञ्चलमा जारी सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ८ सय, १५ सय र ४ गुणा ४ सय मिटर रिलेमा पश्चिमाञ्चलबाट सहभागी छिन्।

तीन कक्षामा देखेको सपना पछ्याउँदै आफ्नै बलबूतामा राष्ट्रिय प्रतियोगितासम्म आइपुगेकी गुडियासामु अबको बाटो सहज छैन। परिवारको कमजोर आर्थिक अवस्था एउटा तगारो हो। त्योभन्दा ठूलो तगारो हो, राज्यको खेलप्रति उदासिनता।

दुई हजार रुपैयाँ नभएर शनिबारको खेलमा गुडिया खाली खुट्टा दौडिइन्। उनको यो अवस्था देख्दादेख्दै खेल पदाधिकारीहरूले गुडियाको निम्ति एथलेटिक्स खेलाडीले लगाउने जुत्ता (स्पाइक)को प्रबन्ध मिलाइदिन सकेनन्। आइतबार पनि उनी जुत्ताबिनै दौडिएकी थिइन्। बरु यसपटक उनले मोजा भने लगाएकी थिइन्।

गुडियाका बाबु सुरेश गुप्ता नवलपरासीका सामान्य किसान हुन्। उनको बुबा, आमा, १७ वर्षका भाइ र १५ वर्षकी बहिनीसहित पाँच जनाको परिवार छ। बाल्यकालदेखि नै खेलाडी बन्ने सपना साँचेकी गुडिया पछिल्लो तीन वर्षदेखि यही सपना पूरा गर्न सक्रिय छिन्।

गुडिया नियमित बिहान ४ बजे उठेर दौडन निस्कन्छिन्। अभ्यासबाट फर्किएपछि १० बजे स्कुल नजाँदासम्म आमा राजवन्तीलाई भान्छाका घरायसी काममा सघाउँछिन्। स्कुलबाट फर्किएर साँझ ५ बजे फेरि दौडन निस्कन्छिन्। सात बजे फर्किएपछि फेरि भान्छामा आमालाई सघाउँछिन्। पढाइलेखाइ सकेर सुत्दा राति १० बजिसक्छ।

उनको एउटै उद्देश्य छ– एथलेटिक्समा अब्बल बनेर नेपाली सेनाको जागिर खाने। उनी आर्थिक, सामाजिक र शैक्षिक रूपले पिछडिएको नवलपरासीको गुठीपर्सौनीका स्थानीयमाझ एउटा नजिर स्थापित गर्न चाहन्छिन्– दौडिएर पनि नाम, दाम र प्रतिष्ठा कमाउन सकिन्छ।

खेललाई मात्र होइन, गुडियाले आफ्नो पढाइलाई पनि विशेष ध्यान दिइरहेकी छन्। १८ वर्षीय गुडिया जनजागृति उच्च माविमा कक्षा १० मा अध्ययनरत छिन्।

खेलकुदमा उनको सक्रियता उनको परिवारलाई मन परे पनि गाउँका अगुवादेखि परिवारभित्रका अन्य सदस्यलाई निको लागेको छैन। उनीहरू प्रायः सधै गुडियाको विषयलाई लिएर बुबा–आमालाई कुरा लगाइरहेका हुन्छन्। यही कारणले केही वर्षदेखि गुडियाको परिवार र नातागोताका अन्य सदस्यसँग बोलचाल छैन। गाउँलेहरू गन्जी र कट्टु लगाएर अभ्यासमा दौडिने गुडियाको विषयमा कुरा काट्छन्। भन्छन्, ‘यसले सत्यनाश गरी। यसकै लहैलहैमा लागेर हाम्रा छोरीहरू पनि बिग्रिने भए।’

गुडियालाई आफ्ना अग्रजको यस्तो सोच हास्यास्पद लाग्छ। गाउँलेहरूले एथलेटिक्सप्रति आफ्नो लगावलाई लिएर जति नै कुरा काटे पनि उनी बिनासंकोच गन्जी र कट्टु लगाएर दौडिरहेकी हुन्छिन्। ‘दौडिँदा म आफूलाई स्वतन्त्र भएको अनुभव गर्छु,’ गुडियाले आइतबार सेतोपाटीसँग भनिन्।

उनी जन्मिएको गाउँमा १६ वर्षको उमेरदेखि नै छोरीहरूको बिहेबारी सुरु भइसकेको हुन्छ। गुडियालाई पनि बिहेका लागि दबाब नआएको होइन। तर, छोरीको सुखमै आफ्नो कर्म मान्ने बुबा–आमाका कारण उनलाई दौडिन मद्दत मिलेको छ।

‘मलाई बुबा, आमा दुवैले खुब खेल भन्नु हुन्छ। म पनि खेलेर गाउँका सबैलाई देखाउन चाहन्छु,’ गुडियाले गाउँमा आफूले भोग्नुपरेका मानसिक कष्टबारे सेतोपाटीसँग भनिन्, ‘गाउँमा गन्जी र कट्टु लगाएर दौडिँदा बाटोमा मलाई प्रायः सबैले छि के लगाएको भन्छन्। मैले जिन्स प्यान्ट लगाउँदा पनि कुरा काट्छन्। मोबाइल चलाउँदा पनि छोरी बिग्री भनेर कुरा काट्न घर आइपुग्छन्।’

उनी छोरी मान्छेप्रतिको यो पुरानो मान्यतालाई उखेलेर फ्याक्न पनि अझै तीव्र गतिमा दौडिन चाहन्छिन्। भन्छिन्, ‘म छोरीप्रतिको नजरिया बदल्न चाहन्छु। मैले छिट्टै विवाह नगरेको कारण यही हो। म अझै दौडिन चाहन्छु, आर्मी बन्न चाहन्छु।’

१० पुस २०७३, नवीन अर्याल, सेतोपाटी, ३।००

वि.सं.२०७३ पुस १० आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...