काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभा फेरि बोलाइने भएको छ ।
मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारण सभा आह्वान गर्न लागिएको बताए । अर्को साधारण सभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शेयरधनीले संचालक समितिलाई अनुमति पनि दिएका छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने बैंकले जनाएको छ ।
यसैबीच, दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ ।
साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ ।
टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।
मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकका ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुबैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् ।
मर्जरपछि मेगा बैंकका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने बैंकका सिइओ अनिलकेशरी शाहले बताए । मेगा र टुरिजमबीचको मर्जरले ४८ वटा जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने सिइओ शाहले बताए ।
प्रकाशित मिति : ४ मंसिर २०७४
वि.सं.२०७४ मंसिर ४ सोमवार २२:२१ मा प्रकाशित