काठमाडौ । नेपालको जलविद्युत क्षेत्रमा ठुलो मात्रामा चिनिया लगानी भित्रिने भएको छ । चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
खिम्ती २ आयोजनामा सक्रिय पिपल्स ईनर्जी लिमिटेडले चीनबाट नौ अर्ब रकम आयोजनाका लागि ल्याउने सहमती गरेको हो । सिडब्ल्युटिडब्ल्यु बाट आयोजनाको लागि उक्त रकम ल्याउने सहमती भएको कम्पनीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
१० अर्बको लागतमा २०७८ असारमा निर्माण सकाउने लक्ष राखिएको आयोजनाको कुल क्षमता ४८.८० मेगावट रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स इनर्जीले लगानी गर्नेछ ।
निर्माण भएको २ वर्षभित्रमा आफ्नो लागानी फिर्ता लैजाने सहमतीमा बन्न लागेको आयोजनालाई चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्ने भएको छ ।
सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा बैंकले लगानी गर्ने भएसंगै आयोजनाका लागि वित्तीय व्यवस्थापन यसअघि नै भैसकेको थियो । तर बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणसंग हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता गरेको पिपल्स इनर्जीले आयोजना सम्पन्न भएपछि मात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने जनाएको छ ।
२०७४ चैत ११ गते प्रकाशित ।
वि.सं.२०७४ चैत १२ सोमवार ०८:२० मा प्रकाशित