काठमाडौं । वर्ष दिनसम्मको कमाई विवरण सार्वजनिक गर्ने क्रम जारी छ । यसैक्रममा अहिलेसम्म एक दर्जन वाणिज्य बैंकले पनि आफ्ना वार्षिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांशको प्रमुख वित्तीय सूचकमा सुधार आएको छ । नाफा बढेको छ । प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायतमा पनि क्रमशः सुधार हुँदै गएको देखिन्छ ।
कुन वाणिज्य बैंकको अवस्था कस्तो ?
९ बैंकको चुक्ता पुँजी बढ्यो, ३ को यथावत
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गर्ने १२ बैंकमध्ये ९ को चुक्ता पुँजी बढेको छ भने ३ वटाको पुँजी अघिल्लो वर्षकै यथावत रहेको छ । अघिल्लो वर्षकै पुँजी कायम हुनेमा एभरेष्ट, माछापुच्छ्रे र सानिमा बैंक रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा नेपाल बैंक परेको छ ।
यसको चुक्ता पुँजी २१.९८% ले बढे ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । तर यो पुँजीमा नेपाल सरकारको अग्राधिकार सेयर समेत सामेल छ ।
८ बैंकको रिजर्भ कोष बढ्दा ४ को भने घट्यो
यस अवधिमा ८ बैंकको रिजर्भ कोष बढेको छ ४ को रिजर्भ घटेको छ । सबैभन्दा धेरै जगेडा कोष सानिमा बैंकले बढाएको छ । सानिमाको रिजर्भ कोष ३६.७८% ले बढेर २ अर्ब २५ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै रिजर्भ कोष हुनेमा भने कृषि विकास बैंक परेको छ । यसको रिजर्भ १०.३७% ले बढेर १० अर्ब ४० करोड ८९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ कोष अझै घट्नेमा भने सिटिजन्स, माछापुच्छ, नेपाल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।
११ बैंकको नाफा बढ्यो
गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आइपुग्दा ११ वटा बैंकको खुद नाफा बढेको छ । नेपाल बैंकको भने नाफा १८.७७% ले घटेर २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँमा आएको छ । यता, सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु बैंक रहेको छ ।
प्रभुको नाफा ११२.०४% ले बढेर २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा बढी नाफा कृषि विकासले कमाएको छ । कृषिको नाफा १९.१५% ले बढेर ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी कसरी बढ्यो ?
वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंक मध्ये ११ को खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा बढी प्रभु बैंकले ६२.१४% ले खुद ब्याज आम्दानी वृद्धि गरेको छ ।
नेपाल बैंकको भने खुद ब्याज आम्दानी ३.२६% ले घटेर ६ अर्ब १७ करोड ९१ लाख ३१ हजार रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी भने कृषि विकास बैंकको रहेको छ ।
११ बैंकको प्रतिसेयर आम्दानी बढ्यो
१२ वाणिज्य बैंक मध्ये ११ वटाको प्रतिसेयर आम्दानी बढेको छ । यता, नेपाल बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसामा आएको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा प्रभु बैंक रहेको छ ।
प्रभुको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कृषि विकास बैंकको छ । यस बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८६ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ । (साभारः नेपाली पैसा)
२०७६ साउन २४ गते प्रकाशित