सुर्खेत । आर्थिक वर्ष २०७५/ ७६ मा कर्णाली प्रदेशमा ५ हजार ७८८ साना उद्योग थपिएका छन।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन ।
मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले घरेलु तथा साना उद्योगतर्फ ३ हजार ३९७, लघु उद्योगतर्फ ४२६ र वाणिज्यतर्फ १ हजार ९६५ उद्योग दर्ता भएको जानकारी दिनुभयो ।मझौला र ठूला उद्योगहरु भने दर्ता भएका छैनन ।
गाउँ–गाउँसम्म सडक र बैंक पुगेपछि साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उहाँको भनाइ थियो । मन्त्रालयले प्रदेश राजधानीमा जडीबुटी संकलन तथा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया यसै वर्षदेखि शुरु हुने बताएको छ ।
‘सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुमा छ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गरिएको छ’, सूचना अधिकारी रोकायाले भन्नुभयोे, ‘अहिले जथाभावी भइरहेको जडीबुटी संकलनलाई एकद्वार गरी व्यवस्थित गर्न प्रयास गर्दैछौं, त्यसकै लागि प्रशोधन केन्द्र खाँचो रहेको हो ।’
उहाँले वीरेन्द्रनगरको लाटीकोइलीमा सञ्चालित जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्रलाई सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । -रासस
२०७६ भदौ ५ गते प्रकाशित
वि.सं.२०७६ भदौ ५ बिहीवार १६:५० मा प्रकाशित