काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले असोज ६ गते सोमबार बोलकबोल प्रक्रियाबाट ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँको छ । ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिन अवधिको छ । त्यस्तै ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको छ ।
बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ८ गते, ८२ दिन अवधिको चैत ११ गते र ३६४ दिन अवधिको २०७७ असोज ६ गते परिपक्क हुनेछ ।
यस्तै बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
असोज ७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
२०७६ असोज ०५ गते प्रकाशित
वि.सं.२०७६ असोज ५ आइतवार १५:१३ मा प्रकाशित