२०७६ मंसिर ०१ गते प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २२ ओटाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित नाफाबाट लाभांश घोषणा गरेका छन् ।
यीमध्ये ९ कम्पनीको लाभांश साधारणसभाबाट पारित समेत भइसकेको छ । लाभांश प्रस्ताव गर्न बाँकी रहनेमा कृषि विकास बैंक, सेन्चुरी बैंक, नेपाल बैंक, एनसीसी बैंक र प्राइम कमर्शियल बैंक रहेका छन् ।
हालसम्म लाभांश घोषणा गरेका (पारित पनि गरिसकेका) वाणिज्य बैंकहरूको औसत प्रतिफल दर १७ दशमलव ७१ छ ।
शेयरमूल्य र लाभांशलाई आधार मानेर गणना गरिने प्रतिफल दर धेरै भएका कम्पनीहरू राम्रो मानिन्छ । साधारणसभाबाट लाभांश पारित गरिसकेका कम्पनीहरूमा एनआईसी एशिया बैंकको प्रतिफल दर सबैभन्दा उच्च अर्थात् १८ दशमलव ५७ प्रतिशत छ ।
कम्पनीहरूको घोषित लाभांश दर राष्ट्र बैंकबाट स्वीकृत भएमा गत बिहीवारको कारोबार मूल्यका आधारमा हेर्दा साधारणसभा हुन बाँकी कम्पनीमध्ये सर्वाधिक प्रतिफल दर प्रभु बैंकको २६ दशमलव ६० प्रतिशत रहेको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ दशमलव ४ प्रतिशत र नेपाल एसबीआईको २३ दशमलव ८७ प्रतिशत छ ।
लाभांश शेयरको अंकित मूल्यका आधारमा घोषणा हुन्छ । तर बजारबाट शेयर खरीद गर्दा हुने वास्तविक लगानी शेयरको अंकित मूल्यभन्दा फरक हुन सक्छ ।
कम्पनीले अंकित मूल्यका आधारमा लाभांश गणना र वितरण गर्ने गर्छ । अंकित मूल्यमै किनेको वा दोस्रो बजारमा प्रचलित मूल्यमा किनेको शेयरको प्रतिफल दर फरक हुन सक्छ ।
कस्तो हो प्रतिफल दर ?
शेयर लगानी गरेपछि कतिसम्म लाभांश पाउन सकिन्छ भनेर अनुमान गर्न प्रतिफल दरको हिसाब हेर्ने, निकाल्ने गरिन्छ । प्रतिफल दर शेयरमूल्यसँगै परिवर्तन हुने गर्छ । त्यसैले लाभांश नबढाइएको वा नघटाइएको खण्डमा शेयरमूल्य तल झर्दा प्रतिफल दर बढ्छ भने शेयरमूल्य बढेपछि यो घट्छ ।
एउटा कम्पनी ‘एबीसी’को शेयर रू. १०० मा खरीदविक्री हुँदै छ र सो कम्पनीका शेयरधनीलाई प्रतिशेयर रू. ५० को वार्षिक लाभांश दिइन्छ तथा कम्पनी ‘एक्सवाईजेड’को शेयर रू. २०० मा खरीदविक्री हुँदै छ र शेयरधनीलाई प्रतिशेयर रू. ५० कै दरले वार्षिक लाभांश भुक्तान गरिन्छ भने कम्पनी ‘एबीसी’को प्रतिफल दर शून्य दशमलव ५ प्रतिशत हुन्छ, जबकि कम्पनी ‘एक्सवाईजेड’ को प्रतिफल दर शून्य दशमलव २५ प्रतिशत हुन्छ ।
यहाँ अन्य सबै कुरा बराबर छन् भने लगानीकर्ताले ‘एबीसी’को शेयरलाई कम्पनी ‘एक्सवाईजेड’को तुलनामा बढी मन पराउँछ । किनकि यसले लाभांश रकम दोब्बर दिन्छ । (आर्थिक अभियानबाट)
वि.सं.२०७६ मंसिर १ आइतवार ०७:०४ मा प्रकाशित