back
NMB ad

बाग्लुङमा दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

Kumari bank ad

बागलुङ । यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ ।

गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो ।

करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट छुट्टयाएको छ । पदमार्ग निर्माण गर्दा २० प्रतिशत जनश्रमदानसमेत गर्ने बताइएको छ ।

“अघिल्लो वर्ष ५०० मिटर पदमार्ग बनायौँ, बाँकी काम यो वर्ष पूरा हुन्छ”, सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले भने । साँघुरो र जीर्ण बनेको घोढेटो बाटोलाई स्तर सुधार गरी पदमार्ग बनाइएको उनको भनाइ छ ।

धार्मिक र पर्यटकीय महत्वका दुई गन्तव्यस्थल जोड्ने गरी पदमार्ग बनाउन स्थानीयवासीले पहल गरेका थिए । विसं १८१० मा बनेको मन्दिर र विसं २०४२ तिर फेला परेको गुफालाई जोडेर अन्य पर्यटकीय पूर्वाधार निर्माणको कामसमेत अघि बढाइने योजना समितिको छ ।

“गुफा परिसरमा उद्यान, वनभोजस्थललगायतका संरचना बनाउने योजना छ”, समितिका अध्यक्ष थापाले भने, “गुफादेखि माथि टिम्लेचौरस्थित माईको मन्दिर पुनःनिर्माण गरिने योजनाका साथ समिति अगाडि बढेको छ ।”

वडा नं ९ को रु पाँच लाख बजेटमा दुई वर्षअघि बाँस्खोलादेखि गुफासम्म दुई किमी पदमार्ग निर्माण भइसकेको छ । गत आवमा रु एक लाख बजेटमा गुफामा ‘रेलिङ’ राख्ने काम गरिएको वडाध्यक्ष तेजबहादुर थापाले बताए । सीमाक्षेत्रमा पर्ने हुँदा गुफाको संरक्षणमा दुवै वडाले लगानी गरेका छन् ।

गुफा र मन्दिरबीच वर्षौँ पुरानो सम्बन्ध छ । बालाचुर्तदशी पर्वमा मन्दिरदेखि सतबीज छर्दै गुफा पुग्ने र पूजाआजा गर्ने चलन छ । उक्त पर्वमा गुफामा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । घाँसदाउरा गर्ने क्रममा गाउँलेले विसं २०४२ मा गुफा फेला पारेका थिए ।

गुफाभित्रको पत्थरमा विभिन्न देवीदेउता र नागका आकृति छन् । गाईका थुनजस्ता देखिने आकृतिबाट बाह्रैमास पानीका धारा चुहिने गर्छन् । गुफा छिर्ने भक्तजन बढ्दै जाँदा धारा पनि बढ्ने गरेको बताइन्छ । गुफाको भुइँतलामा ससाना जलकुण्डसमेत छन् । माथिल्लो तला भने सुक्खा छ ।

भ¥याङ र कृत्रिम प्रकाशको सहायताले मात्र गुफाको उपल्लो तलामा पुग्न सकिन्छ । एक सय जनाले एकैसाथ गुफाको अवलोकन र पूजाआजा गर्न सकिने वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताए । मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ ।

“धार्मिक महत्वसँगै गुफा क्षेत्र प्राकृतिक हिसाबले पनि रमणीय छ”, वडाध्यक्ष थापाले भने, “गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक छ ।” शिवालय मन्दिरको पनि पुनःनिर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो ।

मन्दिरसहित धर्मशाला, शिवलिङ्ग मण्डप, सभाकक्षलगायतका संरचना बनाइने समितिले जनाएको छ । पूर्वाधार तयारीका लागि जग्गा÷घडेरी सम्याउने काम सकिएको छ । एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनका लागि काम शुरु भएको छ । शिवलिङ्गसहित द्वादश रुद्र, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहको समेत गरी कूल १३८ मूर्ति राखिने जनाइएको छ ।

झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । रासस

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०७:५१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...