काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले आज जेठ १४, जेठ १५ र जेठ १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको हो।
गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एवम् विदेशस्थित राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा दीपावली गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवस मनाइदैछ। मुलुकमा कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छैन ।
२०६३/०६३ को १९ दिने जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेको थियो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
वि.सं.२०७७ जेठ १४ बुधवार १६:५९ मा प्रकाशित