back
NMB ad

मुद्दाको म्याद हदम्याद भदौ १ बाट लागू हुने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ ।

बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ । सोअनुसार अदालतले दुई चरणमा म्याद हदम्याद कायम गर्ने गरी अदालतको नियमित कारबाही पुनः सञ्चालन गर्न लागेको हो ।

अदालतले उपत्यकाका हकमा हाल बन्दाबन्दी अन्त्यको समयलाई नै आधार मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने छ । सर्वोच्चले मातहतका अदालतमा समेत सोहीअनुसार व्यवस्थापनका लागि परिपत्रको तयारी गरेको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले अदालतको यसअघि फैसलालाई समेत आधार बनाएर नयाँ परिपत्र जारी गरिने बताए। उनले भने, “बन्दाबन्दीका विषयमा सर्वोच्चको बृहत् पूर्ण इजलासको फैसला र सरकारको निर्णयअनुसार हामीले दुई मोडालिटीमा सेवा प्रवाह गर्ने नीति लिएका छौँ ।” फैसलाअनुसार सेवाग्राहीले सेवा पाउने स्थानसम्म आवतजावत गर्न सक्ने अवस्था बनेपछि मात्र पूर्ण रूपमा बन्दाबन्दी खुलेको मानिने फैसला छ ।

यस हिसाबले नेपाल सरकारले भदौ १ गतेबाट लामो दूरीका समेत सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तो अवस्थामा रहेका सेवाग्राहीका हकमा भदौ १ पछिको ३० दिन हदम्याद नगुज्रिने गरी व्यवस्था हुन्छ ।”

काठमाडौँ जिल्ला अदालत लगायतले आन्तरिक रूपमा नयाँ कार्यतालिका नै बनाइसकेका छन् । अदालतले यसअघि चैत ९ गतेपछि बन्दाबन्दी कायम रहेको अवधिसम्मका दिन तारेख लिनुपर्ने मुद्दाको नयाँ तारिख लिने समय तोकेको छ । साउन ११ गतेदेखि चरणबद्ध रूपमा तारिख लिने समय तोकिएको छ ।

यसअघि सर्वोच्च अदालतले जेठ १५ गते बन्दाबन्दीको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको थियो ।

२०७६ चैत ९ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगरेको अवस्थालाई शून्य अवधिमा कायम गरिएको थियो । रिट निवेदन, देवानी तथा फौजदारी मुद्दा सबैमा यही फैसला आकर्षित हुनेछ । यस्तै अदालतसहित न्यायिक तथा अर्धन्यायिक निकायबाट हेरिने मुद्दामा पनि सोही व्यवस्था कायम हुने अदालतको फैसलामा उल्लेख छ ।

यस्तै बन्दाबन्दीका कारण फिरादपत्र, अभियोगपत्र, प्रतिउत्तरपत्र दायर गर्ने, बयान, पुनरावेदनका निवेदन गर्न समय बाँकी रहेका तर हदम्याद र म्याद गुज्रेकाको हकमा पनि बन्दाबन्दी खुलेको ३० दिनको समय नै लागू हुने छ ।

अदालतले सेवाग्राही बसोबास गर्दै आएको जिल्लामा बन्दाबन्दी खुलेको तर सेवा प्राप्त गर्नुपर्ने जिल्ला वा गाउँ वा नगरपालिकामा बन्दाबन्दी कायम रहेको अवस्थामा कार्यालय खुलेको नमान्ने फैसलामा नै उल्लेख गरेको छ ।

यस्तै सेवाग्राही रहेको र सेवा दिने स्थानमा बन्दाबन्दी खुले पनि सेवाका लागि जाने बीचमा रहेका अन्य जिल्लामा बन्दाबन्दी कायम रहेमा बन्दाबन्दी खुलेको मानिने छैन ।

देशभर बन्दाबन्दी खुले पनि मुलुकको कुनै निश्चित स्थानमा बन्दाबन्दी कायम रहेको वा सिल गरिएको अवस्थामा उक्त क्षेत्रका सेवाग्राहीलाई सो क्षेत्र खुलेपछिको ३० दिनको अवधि प्राप्त हुनेछ ।

एकपटक बन्दाबन्दी खुलेको तर ३० दिनसमेत नपुगी पुनः बन्दाबन्दी कायम भएकोमा बन्दाबन्दी सरहको अवस्था नै मानिने अदालतको फैसला छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०७:१४ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...