back
NMB ad

बैंकका कर्मचारीमा धमाधम कोरोना संक्रमण बढ्न थालेपछि राष्ट्र बैंकको आयो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौँ । कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको छ । यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको छ ।

केही कर्मचारीको परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान छ । कोरोनाबाट अरू धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि संक्रमित भएका छन । ‘हालसम्म १५ देखि २० जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको होला,’ प्राइम बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले भने, ‘केही कर्मचारीको परीक्षण हुन र केहीको रिपोर्ट आउन बाँकी छ ।’ निषेधाज्ञा सुरु हुनुअघि (गतआइतबार) देखि नै बैंकको मुख्य कार्यालय बन्द छ ।

यो अवधिमा पटक–पटक कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएको र सबै कर्मचारीको रिपोर्ट आएपछि कार्यालय सञ्चालनबारे निर्णय गरिने उनले बताए । बैंकका कर्पोरेट विभागमा कार्यरत बहुसंख्यक कर्मचारी संक्रमित भएको स्रोतले बताएको छ । शनिबारसम्म सो बैंकको मुख्य कार्यालयको १८ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ,’ स्रोतले भन्यो, ‘तीमध्ये उच्च तहका कर्मचारी धेरै छन ।’ संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारी अहिले होटलमा आइसोलेसनमा छन ।

यसैबीच, सनराइज बैंकको गोंगबु शाखाका ६ जना कर्मचारीको स्वास्थ्य रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको छ । सो शाखामा १० जना कर्मचारी कार्यरत थिए । तीमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथली शाखाका ६ जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका छन् । मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकले पनि दुई दिन मुख्य कार्यालय बन्द गरेको थियो ।

यी त केही उदाहरण मात्र हुन । हालसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसहित ग्लोबल आईएमई, एनएमबी, एभरेस्ट, सानिमा, एनआईसी एसिया, सिभिल, नेपाल एसबीआईलगायत झन्डै दुई दर्जन वाणिज्य बैंकका कर्मचारी संक्रमित भइसकेका छन । सुरुका दिनमा उपत्यकाबाहिरका शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो । पछिल्ला दिनमा काठमाडौं उपत्यकाका शाखा र तीनका पनि मुख्य कार्यालयमा कार्यरत कर्मचारी संक्रमित हुने क्रम उच्च छ ।

त्यसो त राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि केही दिनको ‘सेल्फ आइसोलेसन’ मा बसिसकेका छन । आफ्नो सम्पर्कमा रहेका कर्मचारीमा कोरोना ‘पोजिभिट’ आएपछि गभर्नर अधिकारी घरबाटै काम गर्ने गरी आइसोलेसनमा बसेका थिए । राष्ट्र बैंकको मुख्य कार्यलयमै सुपरिवेक्षण र मुद्रा विभागमा कार्यरक कर्मचारीमा संक्रमण देखिएको छ ।

पछिल्ला दिनमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघले जनाएको छ । ‘ग्राहकसँग बैंकका कर्मचारीको प्रत्यक्ष सम्पर्क हुन्छ, यसकारण जोखिम उच्च हुन्छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘आधारभूत सेवा पनि दिनुपर्नेछ, सतर्क पनि हुनुपर्नेछ ।’ संक्रमित कर्मचारी संख्या बढेपछि कसरी सुरक्षित हुने, केकस्ता समाधानका उपाय अपनाउने भन्ने विषयमा संघको पहलमा स्वास्थ्य विज्ञहरूसँग छलफल गर्दै आएको उनले बताए । ‘संक्रमित कर्मचारीलाई उपचार गर्न अस्पताल र आइसोलेसनमा राख्न होटलका लागि संघले सहजीकरण गरिरहेको छ,’ उनले भने, ‘केही साता पहिलेसम्म संघले केन्द्रका कर्मचारीका लागि मात्र सहजीकरण गरिएकोमा अहिले प्रदेशस्तरमा पनि गर्दै आएका छौं ।’

मुलुकभर संक्रमित संख्या बढेपछि बैंकका कर्मचारीमा पनि जोखिम बढेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । ‘सबैतिर जोखिम बढेको बेला बैंकका कर्मचारी मात्र अछुतो रहने भन्ने हुँदैन,’ उनले भने, ‘सर्वसाधारणसँग बैंकका कर्मचारीको धेरै सम्पर्क हुन्छ ।’ यस्तो अवस्थामा उच्च सुरक्षा सतर्कताका साथ काम गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले गत साता उक्त निर्देशन दिएको हो । ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र त्यसको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्ने,’ निर्देशनमा भनिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलमा सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने र सोको सम्पूर्ण खर्च पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘कर्मचारीको पीसीआर परीक्षण गराउने र त्यसको सम्पूर्ण खर्च बैंकले बेहोर्ने,’ निर्देशनमा भनिएको छ ।

आइसोलेसनमा रहने कर्मचारीलाई सो अवधिमा तलबसहित अतिरिक्त बिदाको व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको छ । क्वारेन्टाइनमा रहने कर्मचारीलाई सो अवधिमा ‘वर्क फर्म होम’ को व्यवस्था गर्न र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै, अत्यावश्यक बैंकिङ सेवाजस्तै क्लियरिङ, ट्रेजरीलगायत निरन्तर चलाउन कन्टिन्युटी प्लान (बीसीपी) बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । कुनै एक कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भए सो कार्यालय सिल हुन्छ, त्यस्ता अवस्थामा त्यहाँबाट सञ्चालित अत्यावश्यक सेवा नरोकियोस् भन्न बीसीपी बनाउन निर्देशन दिइएको छ । तर धेरै बैंकले त्यस्तो योजना बनाएका छैनन । कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ भदौ ७ आइतवार ०९:५६ मा प्रकाशित

You can share this post!

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...