काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ ।
मंगलवार मितेरी पुलमा सम्पन्न २ देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
मंगलवारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार असोज १८ गते चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्,’ बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भने ।
नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिने छ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् ।
चिनियाँले नाका सञ्चालन भएपछि ५/५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
वि.सं.२०७७ असोज १४ बुधवार ०७:४१ मा प्रकाशित