काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ६१ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशतले कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ७५ करोड ६३ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो । चुक्तापूँजी रू. ९ अर्ब ३५ करोड ३९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३ अर्ब ६ करोड ९ लाख र रिटेन्ड अर्निङमा रू. १ अर्ब ४६ करोड ४८ लाख सञ्चित गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९७ अर्ब ९५ करोड ६९ लाख निक्षेप संकलन भएको छ भने रू. ७७ अर्ब ४९ करोड ४७ लाख कर्जा लगानी गरेको हो । सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ४१ करोड ६६ लाखभन्दा बढी रहेको छ ।
नाफामा कमी आएकासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १७ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १३ दशमलव १३ मा सीमित भएको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात २५ दशमलव २९ टाइम्स, तरलता अनुपात ३१ दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ३८ रहेको छ ।
वि.सं.२०७७ माघ १५ बिहीवार १२:४६ मा प्रकाशित