
काठमाडौ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन पत्रकार संघ (जाट)–नेपालसँग मिलेर देशव्यापी रुपमा पर्यटन सम्भाव्यताहरुको खोज, अध्ययन, अनुसन्धान गर्दै त्यसको प्रबद्र्धन गर्ने भएको छ ।
पर्यटन पत्रकार संघ (जाट) नेपालका प्रतिनिधिमण्डलले नवनिर्वाचित नाट्टा कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित स्वागत कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मधुसूदन आचार्यले नेपालका पर्यटकीय सम्पदाको प्रबद्र्धनमा पर्यटन पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
पर्यटन पत्रकार संघ जाट नेपालले अगाडि सारेको ʽजे टू जेʼ सम्मेलन अर्थात् (पत्रकारदेखि पत्रकारसम्म) अवधारणाबारे आफ्ना भनाइ राख्दै नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटनसँग सरोकार राख्ने संघ संस्थासँग मिलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार सम्मिलित सम्मेलन गराउन आवश्यक सहयोग गर्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पत्रकारहरु सम्मिलित ʽजे टू जेʼ सम्मेलन पर्यटन प्रबद्र्धनको सिलसिलामा कोशेढुंगा सावित हुने उनले बताए । नाट्टा निर्वाचन अगाडि पर्यटन क्षेत्र सुधारका लागि गरिएका प्रतिबद्धता पुरा गर्न आफू कटिबद्ध रहेको बताउँदै उनले यसका लागि पर्यटन पत्रकार संघ जाट नेपालसँग सहकार्य गरिने बताए ।
कार्यक्रममा नाट्टाका प्रथम उपाध्यक्ष सि एन् पाण्डेले देशभर रहेका पर्यटकीय क्षेत्रहरुलाई जाट नेपालसँगको सहकार्यमा उजागर गराईने र त्यसमा आपसी सहकार्य गरिने बताए । यसका लागि जाट नेपालसँग मिलेर तत्कालै आवश्यक योजना बनाई कार्य गरिने बताए ।
त्यस्तै नाट्टाका महासचिव भिमप्रसाद पन्तले संघसंस्थाका तर्फबाट जाट नेपालले आफूहरुलाई दोस्रो स्वागत गरेकोमा धन्यवाद दिए । नाट्टाले उठाएका विषयलाई पर्यटन पत्रकार संघ (जाट) नेपालले अगाडि बढाउन सुझाव दिएकोमा धन्यवाद दिंदै आफूहरुले गरेका प्रतिबद्धता पुरा गरिने बताए ।
स्वागत कार्यक्रममा जाट नेपालले महाभूकम्प र नाकाबन्दीपछि पर्यटन क्षेत्रमा देखिएको सिथिलता अन्त्य र पर्यटन क्षेत्र सुधारका १० बुँदे सुझाव प्रस्तुत गरेको थियो ।
कार्यक्रममा जाट नेपालका अध्यक्ष देवीप्रसाद पन्त, संस्थापक अध्यक्ष हरिराज जोशी लगायतले पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासका लागि यसै क्षेत्रमा दख्खल राख्ने पर्यटन पत्रकारहरुको साथ र सहयोग महत्वपूर्ण हुने भन्दै आगामि दिनमा सोहि किसिमका कार्यक्रम अगाडि बढाउन नाट्टाका नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिएका थिए ।
प्रकाशित मिति : २०७२ माघ ८ गते
वि.सं.२०७२ माघ ८ शुक्रवार १८:१२ मा प्रकाशित