
काठमाडौं । दुई साता अघि मलेसियाबाट स्वदेश फर्केका १२ जना नेपालीको राहदानी संकास्पद लागेर पक्राउ गरि सुरु गरिएको अनुसन्धानले सबै राहदानी नक्कली भएको प्रमाणित भएको छ । राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको थोयो ।
यो तथ्यसंगै नेपालको मेसिन रिडेबल पासपोर्ट । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि बढाएको विभागका महानिर्देशक केदार न्यौपानले बताए । उनले नेपालदेखि मलेसियासम्म नै त्यस खालको गिरोह सक्रिय रहेको हुनसक्ने पनि बताए ।
परराष्ट्र मन्त्रालयले १२ जना नेपालीले कसरी त्यस खालका राहदानी पाउन सफल भए भन्ने विषयमा क्वालालम्पुरस्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातसँग जानकारी मागेको थियो । राजदूत बस्न्यातले उनीहरूले कुनै गिरोहको सहयोगमा सक्कली राहदानीभित्र लेमिनेसन गरी त्यस्तो हर्कत गरेको हुनसक्ने जबाफ मन्त्रालयलाई दिएका छन् ।
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले सक्कली राहदानीलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राख्न सफल भएका ती नेपालीमाथि छानबिन भइरहेको जानकारी दिए । मलेसियाली अध्यागमन तथा त्यहाँ सक्रिय रहेको गिरोहको सहयोगमा यस्तो काम भएको हुनसक्ने आशंका गरिएको सरकारी अधिकारीले बताए ।
गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्किएपछि पक्राउ पर्नेमा छत्रबहादुर ठाडा, कमानसिंह घर्ती, सत्यनारायण साह, हजरत अलि तेली, अर्जुनकुमार गुप्ता, राजेन्द्र खत्री, रामचलित्र मुखिया र श्यामकुमार राई छन् । त्यस्तै नक्कली राहदानी बनाएर स्वदेश फर्किनेमा पदम धानुक र दीपनारायण साह छन् ।
मलेसियास्थित नेपाली दूतावासले त्यसरी गैरकानुनी बनेका थुप्रै नेपालीलाई ट्राभल डकुमेन्ट सहज रूपमा उपलब्ध गराएर नेपाल फर्काइसकेको छ । गत दुई वर्षमा ५५ हजारजतिले मलेसियास्थित दूतावासबाट स्वदेश फर्किन ट्राभल डकुमेन्ट लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गैरकानुनी रूपमा बसिरहेका नेपालीले स्वदेश फर्किन विभिन्न गिरोहको सहयोग लिने गरेका छन् । मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारलाई गैरकानुनी रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही समय थप्न आग्रह गरिरहेको छ । मलेसियाले भने त्यसमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशित मिति १५ माघ, २०७२, ११:२६:५२
वि.सं.२०७२ माघ १५ शुक्रवार ११:२७ मा प्रकाशित