
काठमाण्डौं । यो वर्ष १० अर्ब रुपैयाँ बरारबको धान उत्पादन घटेको छ। कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ९० अर्ब रुपैयाँको धान उत्पादन हुने अनुमान गरेको छ। गत वर्ष एक खर्ब रुपैयाँको धान उत्पादन भएको थियो। मन्त्रालयले चालु आर्थिक वर्षमा १० प्रतिशतले धान उत्पादनमा ह्रास आउने जनाएको हो।
मनसुन ढिला हुनुका साथसाथै भारतीय नाकाबन्दीका कारण रासायनिक मलको सहज ढुवानी हुन नसक्दा पनि धानको उत्पादन घटेको मन्त्रालयले जनाएको छ । यस वर्षको असार मसान्तसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट करिब तीनलाख मेट्रिक टन् यूरिया, डिएपी र पोटास अनुदानमा बिक्रि गरेको कृषि सामग्री व्यवस्थापन शाखाको तथ्याकंमा उल्लेख छ ।
यसवर्ष खडेरीबाट मध्य पहाड तथा तराईका अधिकांश जिल्लाका कृषकको धानबालीमा असर परेको मन्त्रालयको भनाइ छ। देशभर करिब ६१ हजार हेक्टरमा धानखेती हुन्छ। यो वर्ष ४२ जिल्ला कृषि विकास कार्यालय तथा २४ जिल्ला पशुसेवा कार्यालयबाट संकलित विवरणकाअनुसार प्रकोपबाट खाद्यान्न बालीमा १६ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बिजमाण्डु, ११ फागुन, २०७२, २.३०
वि.सं.२०७२ फागुन ११ मंगलवार १४:४२ मा प्रकाशित